सूर्यदर्शन सहकारी अपचलनः पूरक अनुसन्धानमा पनि जोडिए गृहमन्त्री रवि लामिछाने

  • वैशाख २८, २०८१ | ६७३ पटक पढिएको | सीमा संदेश
alt

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको घटनामा गरिएको पूरक अनुसन्धानमा पनि गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको छ । उनको नामबाट १ करोड रुपैयाँ कर्जा लिएको देखिएको हो ।

पूरक अनुसन्धानका क्रममा तयार गरिएको रिपोर्टमा कर्जाको आन्तरिक पत्र र जनरल भौचरको कागजात उल्लेख गरिएको छ । उक्त विवरण अनुसार १ करोड रुपैयाँ कर्जाको निवेदन लामिछानेले दिएको र उक्त रकम गोर्खा मिडिया कम्पनीमा गएको देखिन्छ । यसबारे थप अनुसन्धान आवश्यक रहेको छानबिन समितिले जनाएको छ ।

रिपोर्ट अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तथा उक्त कम्पनीको नाममा भुक्तानी भएको कर्जा ५ करोड ५८ लाख रुपैयाँ देखिन्छ । यस्तै, नेचर नेष्टसँग प्रत्यक्ष सम्बन्धित तथा उक्त कम्पनीको नाममा १ करोड ७८ लाख, नेचर हर्वसमा २ करोड ५३ लाख, गोर्खा ग्रुप मल्टी इन्भेष्टमा १ करोड १ लाख रुपैयाँ गएको देखिन्छ ।

एमालेका नेता तथा सहकारीको सञ्चालक समिति सदस्यसमेत भइसकेका पोखराका व्यवसायी शिव बहादुर गुरुङउर्फ महेन्द्र भोटेसँग जोडिएको कर्जा १७ करोड ७ लाख ८३ हजार देखिएको छ भने कर्मचारी पेस्की खाता मार्फत २२ हजार १ सय रुपैयाँ खर्च गरेका छन् । १७ करोड ८ लाख रुपैयाँमा उनै भोटे जिम्मेवार हुनुपर्ने रिपोर्टमा उल्लेख छ ।

पूर्वसांसद पहारी पनि मुछिए

गण्डकी प्रदेशका पूर्व सांसदसमेत रहेका एमाले नेता राजीव पहारीको नाममा पनि कर्जा देखिएको छ । उनले १५ लाख रुपैयाँ सहकारीलाई तिर्न बाँकी देखिएको हो । हेमन्त अधिकारीसँग प्रत्यक्ष सम्बन्धित कर्जा २ करोड ३१ लाख तथा कर्मचारी पेस्की १ लाख ७० हजार गरी २ करोड ३३ लाख, नेत्रपाणी बास्तोलासँग जोडिएका २१ लाख ७५ हजार रुपैयाँ कर्जा छ । यस्तै, स्वर्ण लक्ष्मी सहकारी काठमाडौँबाट १ करोड ३ लाख पाउनुपर्ने देखाएको छ ।

स्थापनाकालदेखि नै सहकारी ऐन नियमावली अनुसार सहकारी नचलेको निष्कर्ष छानबिन समितिको छ । अधिकांश कारोबार कृत्रिम कर्जामार्फत भएको छ ।

२९ करोडको जिम्मा जीबी राईलाई

उक्त अवधिमा संस्थाका ४३३ वटा कर्जा खातामा १ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ मौज्दात देखिन्छ भने अधिकांश कर्जामा, कर्जा लगानीका लागि गरिने न्यूनतम प्रक्रिया (तमसुक समेत) गरिएको छैन । समितिले शङ्कास्पद तथा दुरुपयोग भएका कर्जाको विवरण नै प्रतिवेदनमा समावेश गरिदिएको छ ।

विभिन्न कार्यकालमा अध्यक्ष भएर काम गरेका व्यक्तिको कार्यकालको पूरा कारोबार प्रतिवेदनमा उल्लेख छ । ज्ञान बहादुर बम्जन अध्यक्ष रहँदा १ करोड ५४ लाख ४९ हजार प्रक्रिया नपुगी कारोबार भएको देखिएको छ । यस्तै, गितेन्द्र बाबु राईसँग प्रत्यक्ष सम्बन्धित कर्जा ११ करोड ८५ लाख ५६ हजार छ भने उनी अध्यक्ष भएको बेलामा प्रवाह गरिएका कर्जा रकम १७ करोड ४६ लाख ७४ हजार र कर्मचारी पेस्की खातामार्फत प्रयोग गरी मौज्दातमा रहेको पेस्की २७ लाख १८ हजार चलाएका छन् ।

राईले मौज्दात नभएको बचत खातामा ब्याज खर्च देखाइ ३८ लाख ७२ हजार प्रयोग गरेका छन् । राईको कार्यकालमा भएको २९ करोड ९८ लाख २० हजार रुपैयाँको कारोबारमा उनी नै जिम्मेवार हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, भुपेन्द्र राईसँग प्रत्यक्ष सम्बन्धित कर्जा ९२ लाख ५४ हजार भने उनी अध्यक्ष भएको कार्यकालमा प्रवाह भएका तथा आवश्यक कागजात तथा प्रक्रिया पूरा नभएका कर्जा ५३ करोड ७ लाख र कर्मचारी पेस्की खातामार्फत ७ लाख ३६ हजार गरी ५४ करोड ७ लाख रुपैयाँमा जिम्मेवारी हुनुपर्ने भनिएको छ । थान बहादुर बुढा मगरसँग प्रत्यक्ष सम्बन्धित कर्जा १ करोड ३८ लाख रुपैयाँ, उनी अध्यक्ष भएको कार्यकालमा प्रवाह भएका कर्जा १ करोड १२ लाख र पेस्की खातामार्फत प्रयोग भएको १९ लाख ९६ हजार गरी २ करोड ७० लाख रुपैयाँमा उनी जिम्मेवार हुनुपर्ने उल्लेख छ ।

कोषाध्यक्ष कुमार रम्तेलसँग प्रत्यक्ष सम्बन्धित कर्जा ३० लाख र कर्मचारी पेस्की खाताबाट प्रयोग भएको ४७ लाख ३२ हजार गरी ७७ लाख ३२ हजारमा उनी जिम्मेवार हुनुपर्ने रिपोर्ट छ ।

भवनको पैसा गयो, भवन छैन

सूर्यदर्शनले कानुन विपरीत विभिन्न ठाउँका सहकारी संस्था बिच अन्तरसहकारी कारोबार गरेको देखिएको छ भने स्थिर सम्पत्ति शीर्षकमा रहेका भवन र जग्गाका नाममा खाता रहको भेटिएको छ । उक्त खाता अनुसार सम्पत्तिचाहिँ देखिएको छैन ।

संस्थाका नाममा कार्यालय भवन खरिद गर्न २०७८ कात्तिकमा ७ करोड २५ लाख निकासाको निर्णय गरेको छ । तर भवन खरिदको आधिकारिक कागजात संस्थासँग छैन ।

सहकारी ऐन् विपरीत सञ्चालक समितिको निर्णयविना कर्जा रकमको यकिन नगरी संस्था समस्याग्रस्त भएपछि सेयर रकमलाई फिर्ता गरी कर्जा खातामा मिलान गरेको देखिएको छ भने सेयर फिर्ता गरेको पनि भेटिएको छ । भौतिक कागजात तथा कारोबारको आधारमा विश्लेषण गर्दा १३ करोड २० लाख नियमित प्रकृतिका कर्जा खाता खोलिएका छन् । सहकारी विज्ञ दिपकप्रकाश आचार्य र एफसीए अनिल लामिछानेले पूरक अनुसन्धान गरेका हुन् । यसअघिको प्रारम्भिक अनुसन्धान पन् िउनीहरूले नै गरेका हुन् । ३ हजार ४१९ पृष्ठको प्रतिवेदन तयार गरिएको विज्ञ आचार्यले बताए ।

‘३ महिना लाग्यो पूरा अनुसन्धान सिध्याउन, २२५ पेज लिखित सुझाव छन् भने बाँकी प्रमाणका कागजात छन्,’ उनले भने, ‘संस्थाको कुनै पनि कारोबार गर्दा उपलब्ध कागजातहरू प्रतिवेदनमा राखिएको छ । स्थलगत अध्ययन गर्ने क्रममा भेटेका विवरण सबै उल्लेख छन् । बैंकसँग खोजेर भए पनि राखिएको छ ।’

उनले केही कर्जाको फाइल उपलब्ध हुन नसकेको बताए । ‘पहिलो प्रतिवेदन निकाल्दा नै कारोबार बन्द गरेर विवरण लिएका थियौँ । त्यसपछि सफ्टवेयर सिल गरिएको छ,’ आचार्यले थपे, ‘अधिकांश विवरण अहिले पनि त्यही हो । सहकारीमा १८ हजार ७ सय बचतकर्ता छन् भने ४३३ जना ऋणीसँग कारोबार भएको छ ।’

२०८० भदौ २१ गते सम्मको लेखा प्रणाली सफ्टवेयर अनुसार १८ हजार ७०० जना बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख बचत रहेको देखिन्छ ।

अनुसन्धान रिपोर्ट प्रहरीलाई हस्तान्तरण

सहकारीको पूरक अनुसन्धान प्रतिवेदन प्रहरीलाई हस्तान्तरण गरिएको छ । पोखराका मेयर धनराज आचार्यले कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्मालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । झण्डै ३५ सय पृष्ठ लामो प्रतिवेदन ९ वटा किताबमा लिपिवद्ध गरिएको छ ।

प्रतिवेदन अनुसार केही नयाँ प्रतिवादी थपिएका छन् । पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले पूरक छानबिनपछि पुराना अपुष्ट विवरणमा प्रस्टता आएको बताए । पूरक छानबिन माघ २२ गतेदेखि सुरु भएको हो । ‘अब प्रहरीमा समन्वय गर्छाैं । कसलाई प्रतिवादी बनाउनुपर्ने भन्ने कुरा प्रतिवेदनलाई टेकेर अघि बढ्छ,’ श्रेष्ठले भने, ‘माघ २२ मा सङ्घर्ष समितिले कम्पनी र व्यक्ति किटेर जाहेरी पनि दिएको थियो । छानबिनमा पीडितको तर्फबाट पूरै समय बसेका छौँ । तर जिल्ला प्रहरीले सहयोग गरेको अवस्था छैन ।’

अनुसन्धानलाई नियामक निकायले अझै मिहिन रुपबाट अघि बढाउनुपर्ने श्रेष्ठको भनाइ छ । ‘सरकार परिवर्तनपछि प्रहरी दबाबमा परेको महसुस हामीले गरेका छौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि छानबिन बिचमा रोकियो । सुरुवातमा जसरी सुरु भयो, पछिसम्म त्यही निरन्तर भएन,’ उनले भने, ‘पीडितको दबाबले प्रतिवेदन तयार भएको छ । यसको कार्यान्वयनमा कतै अवरोध हुन हुँदैन ।’

छानबिनको समयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) पनि संलग्न भएको थियो ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब