अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारी र उद्यमशीलतामा मुख्य समस्या

  • साउन २८, २०८१ | ४९६ पटक पढिएको | सीमा संदेश
alt

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ । युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो छ ।

अहिले युवाको मुख्य समस्या बेरोजगार रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सरकारले युवा लक्षित ल्याइएका कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा रोजगार र उद्यमशीलतामा समस्यामा परेको बताउनुहुन्छ ।

उहाँले सबैले युवाको चिन्ता गर्ने गरेको तर कसैले पनि व्यवस्थापन नगरेको गुनासो गर्नुभयो । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएको छ । तर यो कार्यविधिबाट हुने खाने र टाठाबाठाले मात्र अनुदान प्राप्त गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेको छ  । जनसाङ्ख्यिक हिसाबले युवाको जनसङ्ख्या धेरै रहेको छ ।

जनसङ्ख्यासँगै नीति-निर्माण र नेतृत्वमा युवाको सहभागिता बढ्दो छ । सङ्घमा १२ प्रतिशत, प्रदेशसभामा २० प्रतिशत र पालिकामा ४१ प्रतिशत युवाको जनप्रतिनिधिमा सहभागिता रहेको छ । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।

राष्ट्रिय युवा नीति २०७२ र ‘युथ भिजन २०२५’ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र पालिकामा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् ।

परिषद्ले सात सय ५३ स्थानीय तहमा नगर-गाउँ परिषद् गर्नुपर्नेमा अहिले कार्यपालिकाद्वारा १६ स्थानीय तहमा मात्रै परिषद् र ६५ वटा स्थानीय तहमा युवा सञ्जाल गठन भएका छन् । प्रदेश स्तरमा लुम्बिनी, बाग्मती र सुदूरपश्चिममा युवा परिषद् गठन गरिएको छ । तर पनि युवाका मुद्दा सम्बोधन हुन सकिरहेका छैनन् ।

राष्ट्रिय युवा परिषद्का सदस्य जगदीश ऐरले युवालाई स्वदेशमा राज्यले उपयोग गर्नुपर्ने बताउनुहुन्छ । उहाँले देशको ठूलो जनसङ्ख्या युवा भए पनि राज्यले उपयोग गर्न नसक्दा विदेशिएको बताउनुहुन्छ । उहाँले स्थानीय सरकारले युवामैत्री नीति ल्याएर ऋण प्रणाली, रोजगारीमुखी नीति र श्रम बैंक स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्रसङ्घको समन्वयमा पोर्चुगलको राजधानी लिस्बनमा विश्वका एक सय ४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व युवा सम्मेलन भएको थियो । त्यस सम्मेलनले आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउनाका साथै युवा सशक्तीकरणका पक्षमा ८८ बुँदा लिस्बन घोषणापत्र समेत जारी गरेको थियो ।

त्यसपछि सन् २००० देखि ऐतिहासिक घोषणा भएको अगष्त १२ लाई आधार मान्दै हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालियो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । 

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब