खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

  • असोज २९, २०८३ | ७४ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोपाइँ गरेका छन् । तर रोपाइँ सकिएसँगै उहाँलाई सिँचाइको चिन्ताले सताउन थालेको छ । खेत नजिकै करोडौँ रुपैयाँ खर्चेर खुट्टीखोला सिँचाइ आयोजनाको हेडवक्र्स निर्माण गरिएको छ । नहर पनि सफा गरिएको छ, तर पानी खेतसम्म पुग्न सकेको छैन । सिँचाइ सुविधा पाउने आशामा बसेका साहजस्ता किसान अझै वर्षाको भर पर्न बाध्य छन् ।

‘करोडौँको लगानीमा हेडवक्र्स बन्यो, लाखौँ खर्चेर नहर पनि सफा गरियो । तर वर्षायाममा गेट खोलेर परीक्षण गर्दा खोलाको पानी नहरमा राम्रोसँग बगेन। बरु नहरमा जमेको पानी खोलातिरै फर्किने अवस्था देखियो,’ साहले भने, ‘नहर भएर पनि बाली सुक्ने चिन्ता हटेको छैन ।’ किसानको खेतमा पानी पु¥याउने उद्देश्यले निर्माण गरिएको हेडवक्र्स सम्पन्न भएको करिब पाँच वर्ष पुग्न लाग्दासमेत आयोजना सञ्चालनमा आउन सकेको छैन ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मल्टिटेक निर्माण कम्पनीसँग २०७७ मङ्सिर १७ गते आठ करोड ५६ लाख ७२ हजार ४४२ रुपैयाँमा हेडवक्र्स निर्माणको सम्झौता गरेको थियो । निर्माण कम्पनीलाई आठ करोड ६८ लाख ९३ हजार ९६२ रुपैयाँ भुक्तानी भएको छ। तत्कालीन लहान नगरप्रमुख मुनि साहले २०७८ कार्तिक २२ गते आयोजनाको शिलान्यास गर्नुभएको थियो । वर्षायाममा उपलब्ध पानी हेडवक्र्समा संकलन गरी मुख्य नहरमार्फत कृषि क्षेत्रमा सिँचाइ पु¥याउने लक्ष्य राखिएको थियो । मड् यान, गडमे, बानो र सर्रे खोलाको जलाधार क्षेत्रबाट पानी उपलब्ध हुने अपेक्षा गरिए पनि संरचना निर्माणपछि किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन, २०८१ मा हेडवक्र्सको डिजाइन तथा निर्माणमा प्राविधिक समस्या औँल्याएको छ । स्थलगत निरीक्षणका क्रममा खोलामा पानी बग्ने सतहभन्दा हेडवक्र्स अग्लो स्थानमा निर्माण भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । डिजाइन सुधार तथा थप निर्माण नगरी हेडवक्र्समा पानी जम्मा गरी नहरमा वितरण गर्न सकिने अवस्था नदेखिएको प्रतिवेदनको निष्कर्ष छ । सिँचाइ कार्यालय सिरहाको पछिल्लो स्थलगत निरीक्षणले समस्या हेडवक्र्समा मात्र सीमित नरहेको देखाएको छ ।

मुख्य तथा शाखा नहरमा सहरी ढल र फोहोर मिसिने, माटो तथा गेग्रान थुप्रिने, सडक निर्माण हुने र अतिक्रमणका कारण नहरको चौडाइ घट्ने समस्या छन् । कार्यालयका इञ्जिनियर सञ्जीवकुमार यादवले नहरका केही स्थानमा ९० सेन्टिमिटरसम्म माटो जमेको बताए । माटो हटाएपछि दक्षिणी नहरमा पानी सञ्चालन गर्न सकिने देखिए पनि पश्चिमी नहरमा थप संरचनागत समस्या छन् । हेडवक्र्स निर्माणको करिब चार वर्षपछि आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेश सरकारले नहर सफाइका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये सात लाख ९० हजार २४५ रुपैयाँमा शिवम् कन्स्ट्रक्सनलाई सफाइको जिम्मा दिइएको थियो । तर सफाइपछि पनि अपेक्षा अनुसार पानी सञ्चालन हुन सकेन । स्थानीय देवराज पोखरेलले नहर गहिरो बनाएर सफाइ गर्दा छेउको बाटो धसिन थालेको, बोटबिरुवामा क्षति पुगेको र विद्युत्का पोलसमेत जोखिममा परेको बताए । उनले आयोजनाको प्राविधिक तथा आर्थिक पक्षको छानबिन गर्न माग गरे । सिँचाइ कार्यालय प्रमुख सुमनकुमार झाले हेड रेगुलेटरबाट करिब ४०० मिटरको दूरीमा रहेको मन्दिर र पानी बाँड्ने संरचनाले मुख्य तथा शाखा नहरमा पानीको प्रवाहमा बाधा पु¥याएको बताए ।

मुख्य नहर चार हजार ९०० मिटर र शाखा नहर एक हजार ७१० मिटर लामो छ । नहरका अवरोध हटाउने, मर्मतसम्भार तथा स्तरोन्नति गर्ने र ढल व्यवस्थापन गर्न सके पानी सञ्चालन सहज हुने उनको भनाइ छ । लहान नगरपालिकाका प्रमुख महेश चौधरीले बजारको फोहोर व्यवस्थापन र पश्चिमी नहरबाट सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले भूमिगत नाला प्रणालीको योजना अघि बढाइएको बताए । करिब आठ करोड रुपैयाँको उक्त योजना राजनीतिक विरोधका कारण अघि बढ्न नसकेको उनको भनाइ छ ।

खुट्टीखोला सिँचाइ उपभोक्ता समितिका अध्यक्ष धर्मराज चौधरीले पनि पटक–पटक पहल र आन्दोलन गर्दा पनि ठोस प्रगति नभएको बताए । सिँचाइ कार्यालयले यही असोज ८ गते आयोजना सुधार तथा स्तरोन्नतिसम्बन्धी विस्तृत प्रतिवेदन मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा पेश गरेको छ । कार्यालय प्रमुख झाले नहर मर्मत, संरचना सुधार र स्तरोन्नतिका लागि बहुवर्षीय योजनाअन्तर्गत १२ करोड ४३ लाख दुई हजार रुपैयाँ बजेट माग गरिएको बताए । आयोजनाको कुल कमाण्ड क्षेत्र ९६४ हेक्टर छ । त्यसमध्ये करिब ६०० हेक्टर खेतीयोग्य जमिन रहेको र सात हजार घरधुरीका ३५ हजार जनसंख्या लाभान्वित हुने लक्ष्य छ ।

आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा कृषि उत्पादनमा २०० प्रतिशतसम्म वृद्धि गर्ने अपेक्षा गरिएको छ । स्थानीय इञ्जिनियर वीरेन्द्र महतोले थप बजेट विनियोजन मात्र समस्याको समाधान बताए । हेडवक्र्सको प्राविधिक परीक्षण, नहरको सतह सुधार, पानीको उपलब्धता सुनिश्चितता र ढल व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ । हेडवक्र्सदेखि नहरको अन्तिम बिन्दुसम्म प्राविधिक अध्ययन गरी खेतसम्म पानी पुग्ने सुनिश्चित कार्ययोजना नबने करोडौँ खर्चेर निर्माण गरिएको आयोजना उपयोगविहीन संरचनामै सीमित रहने जोखिम छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

असोज २९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २९ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब