सनातन संस्कृतिमा होली र फागु

  • फागुन २९, २०८१ | २६१ पटक पढिएको | सीमा संदेश
alt

मिथिलामा फागु पर्वको सेरोफेरोमा एक लोकोक्ति छ, ‘जे जिये से खेले फाउग’ अर्थात् जो बाँचे उनै खेले फागु ।’  ढोल, मृदंग, मन्जिरा बजाउँदै मस्तीमा नाच्दै गाउँदै, ‘बुरा न मानो होली है’ भन्दै मनाइने फागु एक पर्व मात्र होइन उत्सव र महोत्सव पनि हो ।

सनातन संस्कृतिमा व्यक्तिमा ज्ञानको प्रसार गर्न, नैतिकताको पाठ सिकाउन, जिम्मेवारीको बोध गराउन र समाजमा लोक परम्पराको निर्माण गर्न अनेक कला, संंस्कृति र चाडपर्वको जन्म भएको देखिन्छ ।

चाडपर्व भनेकै मानिसहरूले आ–आफ्ना देवदेवीहरूको पूजाअर्चना गरी मिठा परिकार खाएर उत्सव मनाउनु हो । यस्ता चाडपर्वलाई नै माध्यम बनाएर हाम्रा पुर्खाले सामाजिक व्यवस्था हामीलाई हस्तान्तरण गरेका हुन् ।

सनातन संवत्को सन्धिकाल अर्थात् जाँदै गरेको र आउँदै गरेको वर्षको बिचको सेरोफेरोमा पर्ने फागु पर्व एक यस्तो पर्व हो, जसमा सनातन समाजको हरेक आयामको उत्थान र विकास दृष्टिगोचर हुन्छ ।

फागु पर्वलाई मदनोत्सव, वसन्तोत्सव, होली आदि अनेक नामले पुकारिन्छ । यस पर्वमा भगवान् र भक्ति, शाश्वत र नश्वर, आसुरी र सात्त्विक प्रवृत्ति आदि अनेक तत्त्व र तथ्यको उजागर भएको पाइन्छ ।

भगवान् विष्णुको चौथो नरसिंह अवतार यसै अवसरमा भएको हो, जसले असुरराज हिरण्यकशिपुको वध गर्‍यो । भगवानको तेस्रो वराहको कथा पनि चौथो अवतारको कथासँग जोडिएको छ । 

श्रीमद्भाग्वद्गीताको सातौँ श्लोकमा भगवान विष्णुका आठौँ अवतार श्रीकृष्णले भन्नुभएको छ — 
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।’ 
अर्थात् जहाँ धर्मको पतन र अधर्मको उत्थान हुन थाल्छ, त्यहाँ म अवतार लिन्छु । सनातन धर्ममा भगवान् विष्णुको धेरै विशेष दिनहरूमा व्रत, पूजा, मन्त्र जप आदिको विशेष महत्त्व छ । 

शास्त्रानुसार, भगवान विष्णुका २४ अवतार छन् । जसमा मुख्य हुन् — मत्स्य, कच्छप, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण र बुद्ध । 

हिरण्यकशिपु भगवान् विष्णुका विरोधी मात्र थिएनन्, उनी आफूलाई नै भगवान् मान्थे । तर छोरा प्रह्लादले भगवान् विष्णुको भक्ति गर्न थालेपछि उनी झस्किए । आफूले बालकै ठानेका छोराले आफ्नो विरोधीको भक्ति गर्न थालेपछि उनीमाथि अंकुश लगाउने निश्चय गरे । 

हिरण्यकशिपुका पूर्वज हयग्रीवको वध मत्स्यावतार विष्णुले र अरुणको वध भ्रामरी अवतार माता पार्वतीले गर्नुभएको थियो । तर यीमध्ये वराह र नरसिंह अवतारको सन्दर्भ फागु पर्वसँग जोडिएको पाइन्छ ।

विष्णु पुराणका अनुसार दैत्यहरूका आदिपुरुष कश्यप र उनकी पत्नी दितिका दुई पुत्र र एक पुत्री भए । जेठा हिरण्यकशिपु, कान्छा हिरण्याक्ष र छोरी होलिका थिइन् ।

मंगल समयको सहवासबाट जन्मेका कारण उनीहरू दैत्य प्रवृत्तिका भए । दैत्य दाजुभाइ भगवान् ब्रह्माको तपस्या गरी वरदान पाएर अहंकारी हुन पुगे ।

हिरण्याक्ष तीनै लोक आफ्नो अधिकारमा पार्न चाहन्थ्यो । युद्धमा अजेयको वरदान प्राप्त गरेका हिरण्याक्षले धर्र्तीका तमाम बलशालीलाई परास्त गर्दै धरतीलाई नै समुद्रमा डुबाएर लगे । अन्ततः अधर्मी हिरण्याक्षको अन्त्य गर्न भगवान् विष्णुले वराह अवतार लिएर हिरण्याक्षको वध गर्दै धर्तीको रक्षा गर्नुभयो । वराह अवतारको कारण अहंकारी हिरण्याक्ष बन्यो ।

भाइ हिरण्याक्षको वधका कारण क्रोधित हुन पुगेका दाइ हिरण्यकशिपु भगवान्को विरोधी बन्न पुगे । हिरण्यकशिपुकी पत्नीको नाम कयाधु थियो भने चारजना पुत्र थिए — प्रह्लाद, अनुहलाद, सहल्लाद र हल्लाद । दैत्यराज हिरण्यकशिपु भगवान ब्रह्माबाट वरदान प्राप्त गरेर शक्तिशाली भएका थिए । उनले आफ्नो राज्यमा कसैले पनि विष्णुको पूजा नगर भनी आदेश गरेका थिए । प्रह्लाद भने भगवान् विष्णुका भक्त थिए र ईश्वरमा उसको अटूट आस्था थियो । प्रह्लाद बाबुको आदेशविपरीत भगवान्को भक्तिमा लीन रहन थालेपछि बाबुछोराबिच त्यस्तो द्वन्द्व प्रारम्भ भयो, जसको अन्त्य भगवान् विष्णुको नरसिंह अवतार, हिरण्यकशिपुको वध र भक्त प्रह्लादको सिद्धिसँगै भयो । होलिका दहन, जसको स्मृतिमा होली पर्व मनाइन्छ, यसै कथाको अन्तर्वस्तुको एक महत्त्वपूर्ण घटना हो । 

हिरण्यकशिपु, उनका छोरा प्रह्लाद, बहिनी होलिका र नरसिंह अवतारसँग सम्बन्धित छ, होलिका पर्व । होली पर्वमा भगवान् र भक्तबिचको सम्बन्धको सन्देश पाइन्छ ।

होलिका दहन 
होली पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । असुरराज हिरण्यकशिपुले छोरा प्रह्लादको शिक्षादीक्षाको जिम्मेवारी शण्ड र अमर्क (दैत्यगुरु शुक्राचार्यका छोराहरू) लाई दिएका थिए । उनीहरूको शिक्षादीक्षाबाटै प्रह्लादले शाश्वत र नश्वर वस्तुको ज्ञान पाएर भगवान् विष्णुका भक्त भएका थिए ।

हिरण्यकशिपु भगवान् विष्णुका विरोधी मात्र थिएनन्, उनी आफूलाई नै भगवान् मान्थे । तर छोरा प्रह्लादले भगवान् विष्णुको भक्ति गर्न थालेपछि उनी झस्किए । आफूले बालकै ठानेका छोराले आफ्नो विरोधीको भक्ति गर्न थालेपछि उनीमाथि अंकुश लगाउने निश्चय गरे । 

हिरण्यकशिपुले साम–दाम–दण्ड–भेद सबै तरिका अपनाएर छोरालाई सम्झाउने–बुझाउने गरे; केही गरी नभएपछि तर्साउने र मार्ने षड्यन्त्र समेत गरे । पहाडबाट खसालेर, विषालु सर्पले टोकाएर, हात्तीले कुल्च्याएर, शरम्बरासुरद्वारा थरीथरीका मायाजाल प्रयोग गराएर, विष खुवाएर, समुद्रमा फ्याँकेर पनि प्रह्लादको ज्यान नगएपछि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरे । 

होलिकाले आफ्नो शरीरमा आगो उत्पन्न गर्न सक्ने तर आफ्नो शरीर नजल्ने वरदान पाएकी थिइन् । हिरण्यकशिपुले अह्राएपछि होलिकाले प्रह्लादलाई काखमा लिएर प्रज्ज्वलित भइन् । प्रह्लाद पनि आफ्ना आराध्य विष्णुमा लीन थिए । भगवानले भक्तको हमेशा रक्षा गर्छन् । भगवानको कृपाले होलिकाको वरदान विपरीत परिणाम भयो । होलिका स्वयं जलिन् र प्रह्लाद कुशल रहे ।

होलिकाको अवसानले हिरण्यकशिपुलाई अति क्रुद्ध बनायो । अनि उनी आफैँ प्रह्लादलाई मार्न उद्यत भए । प्रह्लादले आराध्यलाई पुकारे । भगवान्ले नरसिंह रूपमा प्रकट भई हिरण्यकशिपुको वध गर्नुभयो । यस कथा अनुसार होलिकाको अन्त्यको स्मृतिमा होलिका दहन र हिरण्यकशिपुको अन्त्यबाट असत्यमाथि सत्यको विजयको स्मृतिमा रङ–अबिर  एकले अर्कोलाई लगाएर फागु खेलिन्छ ।

मसान होली
फाल्गुण पूर्णिमाकै दिन महादेवले मृत्युमाथि विजय प्राप्त गर्नुभएको थियो । भोलेनाथले यमराजलाई यसै दिन पराजित गरेर सर्वाङ्ग भष्मलेपन गरेकाले हरेक वर्ष यस दिन तान्त्रिक अघोरी संन्यासीहरूले विशेष रूपले मसान होली मनाउँछन् । 

मदनोत्सव
मदनोत्सव प्रेम र आनन्दको पर्व हो । मदनोत्सव फागुन शुक्ल अष्टमीदेखि सुरु भएर फागुन पूर्णिमासँगै समाप्त हुन्छ ।

मदनोत्सव होलिका दहनभन्दा निकै पुरानो प्राचीन कालदेखि नै मनाइँदै आइएको पर्व हो । शिव पुराणमा प्रजापति दक्षले मदनोत्सव बनाइरहँदा आयोजित नाट्य प्रतियोगिताका दौरान शिव र सती पहिलोपल्ट एकाकार हुन पुगेको उल्लेख छ । मदनोत्सव प्रेमका देवता कामदेव र उनकी पत्नी रतिको समर्पणमा मनाउने परम्परा शताब्दियौँ पुरानो हो । कालिदासदेखि चार्वाकसम्म सबैले उनीहरूको प्रेमको उल्लेख गरेका छन् । नास्तिक विचारधाराबाट प्रेरित चार्वाकले मदनोत्सव भने धेरै दिनसम्म मनाउँथे ।

वसन्तोत्सव
शिशिर ऋतु समाप्त भएर वसन्त ऋतु आउँदा मदनोत्सव, कौमुदी महोत्सव, वसन्तोत्सव मनाउने परम्परा रहिआएको छ । मदनोत्सव नै वसन्तोत्सव वा कुमुद महोत्सव हो ।

वसन्त ऋतुको आगमनको उत्सव नै वसन्तोत्सव हो । वसन्तोत्सव माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीबाट सुरु हुन्छ । भारतीय साहित्यमा पनि धेरै ठाउँमा मदनोत्सवको उल्लेख गरिएको छ । 

दक्षिण भारतमा वसन्तोत्सव मनाउने परम्परा अक्षुण्ण रूपमा चल्दै आएको छ । यो पर्व चैत्र शुक्ल त्रयोदशी, चतुर्दशी र पूर्णिमा गरी तीन दिनसम्म मनाइन्छ । (लेखक अजयकुमार झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन्  ।)

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

 नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान प ...

असार ६ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ६ गते । शुक्रबार । ईश्वी सन् २०२५ ज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब