रिंकु सदाय सामूहिक बलात्कार र मृत्यु प्रकरण पञ्चायती बसेका थप दुईजना पक्राउ

  • फागुन २९, २०८१ | ४५६ पटक पढिएको | सीमा संदेश
alt

सिराहाको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा प्रहरीले पञ्चायतीमा बसेका थप दुईजनालाई पक्राउ गरेको छ । पञ्चायतीमा बसेका नवराजपुर– १ भगवतीपुरका ५५ वर्षीय कारी सदाय र ६६ वर्षीय रामदेव सदायलाई बुधबार पक्राउ गरिएको सिराहा प्रहरीका डिएसपी वीरेन्द्रकुमार पासवानले बताए । यद्यपि, आठजनाविरुद्धको किटानी जाहेरीमा उनीहरूको नाम भने थिएन । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट अनुमति लिएको उनले बताए । गत माघ अन्तिम साता भएको घटनामा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरेको छ । जसमध्ये चारजना मात्र किटानी जाहेरीमा नाम उल्लेख भएकाहरू हुन्, चारजना अझै फरार छन् । 

पञ्चायतीमा बसेका र पूरक जाहेरीमा नाम किटान गरिएका नवराजपुर– १ का वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र जाहेरीमा नाम नरहेका राजेन्द्र मण्डल २२ फागुनमा पक्राउ परेका थिए । मृतककी आमाले दिएको पूरक जाहेरीका आधारमा प्रहरीले ११ फागुनमा ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरअन्तर्गत पक्राउ गरेको थियो । पक्राउ गरिएका चन्देश्वर, रामविनोद र कमलेशलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२७ (क) (करणीसम्बन्धी कसुरमा मिलापत्र गर्न वा गराउन नहुने)बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले २१ फागुनमा मुख्य आरोपी सांकेतिक नाम ०८१ लहान (ण)लाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । नाबालक रहेकाले उनको नाम खुलाइएको छैन । 

डिएसपी पासवानका अनुसार पूरक जाहेरीमा किटान गरिएका फरार मुख्य दुई आरोपी र पञ्चायतीमा बसेका दुईजनासहित चारजनाको खोजी भइरहेको छ । गत २७ माघ कोराति शौच गर्न घर बाहिर निस्केकी रिंकुलाई स्थानीय तीनजनाले अपहरण गरी सामूहिक बलात्कार गरेको घटना गाउँमै दबाउन २९ र ३० माघमा दुईपटक जनप्रतिनिधिकै रोहवरमा पञ्चायती गरी पीडित परिवारलाई प्रहरीमा जान नदिएको सार्वजनिक भएको थियो । पहिलो दिनको पञ्चायतीले मुख्य आरोपीलाई एक लाख ५१ हजार जरिवाना गर्ने निर्णय सुनाएपछि आरोपी पक्षको आग्रहबमोजिम ११ हजार छुट गरी एक लाख ४० हजार तिर्नुपर्नेबारेमा दोस्रो दिनको पञ्चायतीमा पञ्चहरूबिच नै कुटाकुट भएको थियो । त्यही साँझ किशोरी आफ्नो घरको कोठामा झुन्डिएर मृत भेटिएकी थिइन् । 

१ फागुनमा एकजनाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गरेको थियो । त्यसको एक सातापछि ८ फागुनमा इलाका प्रहरी कार्यालय लहानमा मृतककी आमाले सामूहिक बलात्कारमा संलग्न तीन र पञ्चायती बसेका पाँच पञ्च गरी आठजनाविरुद्ध कर्तव्य ज्यान, बलात्कार र अपहरण तथा शरीर बन्धक, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गर्न खोजेको कसुरमा पूरक जाहेरी दिएकी थिइन् । 

जबर्जस्ती करणी कसुरमा १२ वर्ष कैद
१६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा जिल्ला अदालत बर्दियाले गेरुवा गाउँपालिकाका १८ वर्षीय विकास थारूलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठले थारूलाई कसुरदार ठहर गर्दै १२ वर्ष कैद सजाय, पाँच लाख जरिवाना, ५० हजार रुपैयाँ क्षतिपूर्ति र २० हजार पीडित राहत कोषमा जम्मा गर्न फैसला गरेको अदालतका स्रेस्तेदार कपिल पौड्यालले जानकारी दिए । थारूले बालिकालाई २४ भदौमा जबर्जस्ती करणी गरेको भन्दै पीडितका परिवारले २६ भदौमा प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले २५ भदौमै थारूलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १३ असोज ०८१ मा जबर्जस्ती करणीको अभियोगमा अदालतमा मुद्दा गरेको थियो । 

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब