कर्मचारी सरुवामा मोलमोलाइ भएको भन्ने आरोप असत्य छ । मैले कर्मचारी सरुवालाई झनै व्यवस्थित बनाइरहेको छु । कतै कुनै बदमासी भएको छ भने तथ्यसहित भन्नुपर्छ, आवश्यक छानबिन गर्न तयार छु । सरुवामा कुनै बदमासी भएको छैन । प्रत्येक महिनाको १ गते र १५ गते अत्यावश्यक खालका मात्रै सरुवा गर्ने गरेका छौं । मन्त्रीले सरुवामा रुचि राखेको भन्ने कुरामा सत्यता छैन, मेरो मुख्य ध्यान नीतिगत सुधारमा केन्द्रित छ ।
राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने कर्मचारी सरुवामा मोलमोलाइ हुने क्रम बढेको भन्दै कर्मचारीले नै विरोध गर्न थालेका छन् ।
कर्मचारी सरुवामा लिप्त रहँदै आएका बिचौलियाहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको सचिवालयसँग सेटिङ मिलाएर कर्मचारी सरुवा गर्दा २० हजारदेखि १ लाख रुपियाँसम्म मोलमोलाई गरिरहेको स्रोतको दाबी छ।
हालको निजामती सेवा ऐन र नियमावलीले रिक्तबाहेक अन्य ठाउँमा कर्मचारी सरुवा गर्न क्यालेन्डर नै निर्धारण गरे पनि सामान्य प्रशासन मन्त्रालयले आफूखुशी ठुलो संख्यामा कर्मचारी सरुवा गर्दै आइरहेको छ । निजामती सेवा नियमावली २०५० अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई रिक्तबाहेक प्रत्येक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तसम्म कर्मचारीको सरुवा गर्न पाउने अधिकार रहेको छ । तर, सो अधिकार मिचेर मन्त्रालयले वर्षैभरि मनपरी ढंगले कर्मचारीको सरुवा गर्दै आइरहेको छ । मन्त्रालयका एक अधिकृतका अनुसार रकमको चलखेलका आधारमा मन्त्रालयले हप्तैपच्छिे तथा महिनैपिच्छे कर्मचारीको सरुवा गर्ने गरेको छ । उनले विशेष गरी आकर्षक मानिएका स्थानीय तहको प्रमु्ख प्रशासकिय अधिकृतमा जानका लागि रकमको मोलमोलाइ हुने गरेको बताए । सरुवाको सूची बाहिरै बन्ने गरेको र मन्त्री गुप्ताको सचिवालयमार्फत सो सूची सचिवकहाँ पुग्ने गरेको स्रोतको भनाइ छ । मन्त्रीले दबाब दिएपछि सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले पनि राम्ररी अध्ययन नै नगरी फटाफट कर्मचारीको सरुवा गरिरहनुभएको बताइएको छ।
नियमअनुसार उपसचिवसम्मको सरुवाको अधिकार सचिवलाई रहने गरेको छ । तर, कार्यालय सहयोगीदेखि उपसचिवसम्मकै सरुवामा मन्त्रीले ठाडो हस्तक्षेप गर्ने गरेका छन् । ‘जुन मन्त्रीले कर्मचारीको सरुवामा बढि रुचि राख्छ, त्यो मन्त्री असल छैन भन्ने बुझ्नुपर्छ । मन्त्रालयकै एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने । मन्त्री गुप्ताले सचिवसँग दिनहुँजसो नै कर्मचारी सरुवामा अनावश्यक रुचि राख्ने र दबाब दिने गरेको स्रोतको दाबी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुशासन दिने, सेवा प्रवाह प्रभावकारी बनाउने तथा कर्मचारी कल्याणका लागि महत्वपूर्ण नीतिगत निर्णय गर्ने मन्त्रालय हो । साथै संघीयताको सफल कार्यान्वयनमा समेत यो मन्त्रालयले प्रभावकारी कार्य गर्नुपर्ने जिम्मेवारी छ । तर, मन्त्रालयको राजनीतिक नेतृत्वले यस्ता महत्वपूर्ण विषयलाई उच्च प्राथमिकतमा राख्न छोडेर सरुवामा नै बढी केन्द्रित हँुदै आइरहेको पाइएको छ ।
मन्त्रालयले कर्मचारीहरूलाई समयावधि नपुग्दै सरुवा गरिरहेको छ । रकम तिर्न नसक्ने इमान्दार र सोझा कर्मचारीहरू सधैं उपेक्षित हुनपरिरहेको बताइएको छ ।
प्रम कार्यालयद्वारा कर्मचारी व्यवस्थापनसम्बन्धी चारबुँदे सर्कुलर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका विभिन्न मन्त्रालय र निकायले अनियमित किसिमले कर्मचारी सरुवा गरेको, तथा कैयांै कर्मचारीलाई लामो समयसम्म जिम्मेवारी नदिई राखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सबै मन्त्रालयका सचिवहरूलाई चारबँुदे सर्कुलर पठाउँदै कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले तीनवटै तहमा दरबन्दीअनुसार मात्रै कर्मचारी सरुवा र पदस्थापन गर्न तथा सबै मन्त्रालयले जिम्मेवारीविहीन अवस्थामा रहेका कर्मचारीलाई ३ दिनभित्र जिम्मेवारी तोक्न विभिन्न मन्त्रालय र निकायलाई निर्देश गरेको हो । यसै गरी कुनै विशेष कारण नपरी एउटै कार्यालयमा उही कर्मचारीलाई दोहो¥याएर सरुवा पदस्थापन नगर्न, विनाकारण समयावधि नपुगी एउटै कर्मचारीको पटक पटक सरुवा नगर्न तथा बजेट निर्माणको समय भएकाले प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई बजेट निर्माणको चरण सम्पन्न नभएसम्म अन्यत्र सरुवा नगर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय र निकायलाई निर्देश गरेको छ । न्युज अफ नेपाल
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved