आजबाट फुटबल महाकुम्भ ४८ राष्ट्र, १०४ खेल, तीन आयोजक देश

  • जेठ २८, २०८३ | १६८ पटक पढिएको | सीमा संदेश
alt

फुटबलको इतिहासमै पहिलोपटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ बिहीबारबाट सुरु हुँदै छ । ४८ राष्ट्रको सहभागिता, १०४ खेल, १६ सहरका मैदान र तीन देशमा हुने भव्य उद्घाटन समारोहसँगै यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठुलो र भव्य विश्वकप बन्दै छ । साथै, मेसी, रोनाल्डो, एम्बाप्पे र नयाँ पुस्ताका स्टारहरूबिचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ ।

१९ जुलाईमा न्युयोर्कमा समापन हुने विश्वकपको सुरुवात तीनवटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित हुँदै छ । मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ । २३औँ संस्करणको यो उद्घाटन खेल नेपाली समयअनुसार मध्यराति ००:४५ बजे हुँदै छ । 

विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसअघि ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । त्यस्तै, प्रतियोगिता १६ सहरका १६ मैदानमा आयोजना हुनेछ । पछिल्ला संस्करणमा ६४ खेल हुँदै आएकोमा यसपटक फाइनलसहित कुल १०४ खेल हुनेछन् ।

यस संस्करणमा ४८ राष्ट्रबाट १,२४८ खेलाडी सहभागी छन् । साथै, ७१ देशका ४४९ क्लबबाट व्यावसायिक फुटबल खेल्ने खेलाडीले विश्वकपमा प्रतिनिधित्व गर्दै छन् ।

विश्वकपमा ब्राजिल लगातार २३औँपटक सहभागी हुँदै छ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिलसँगै साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । तर, यस विश्वकपमा चारपटकको च्याम्पियन इटालीसँगै पोल्यान्ड, डेनमार्क, अफ्रिकी महारथी नाइजेरिया र क्यामरुनजस्ता चर्चित राष्ट्र भने छनोट हुन सकेका छैनन् ।

यस्तै उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै छन् । यी नयाँ टोलीसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा पनि पहिलो जितको खोजीमा छन् ।

पहिलोपटक प्रतियोगिता तीन देशमा आयोजना हुँदा उद्घाटन समारोह पनि तीनै देशमा हुने भएको छ । प्रतियोगिता तीन देशका १६ सहरमा आयोजना हुने पहिले नै तय भइसकेको छ ।

विश्वकपको पहिलो उद्घाटन समारोह मेक्सिको सिटी स्टेडियममा हुनेछ, जहाँ मेक्सिकन संस्कृति, परम्परा र कलाको विशेष प्रस्तुति रहने फिफाले जनाएको छ । उद्घाटन समारोहमा साकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरूले प्रस्तुति दिनेछन् ।

दोस्रो उद्घाटन समारोह १२ जुनमा टोरन्टोमा हुनेछ । क्यानडाले पहिलोपटक आफ्नो भूमिमा यति ठुलो प्रतियोगिता आयोजना गर्दै छ । फिफाका अनुसार क्यानडाको बहुसांस्कृतिक समाज, विविध समुदाय र राष्ट्रिय पहिचानलाई संगीत र दृश्यमार्फत प्रस्तुत गरिनेछ । कार्यक्रममा अलानिस मोरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेही, एलियाना सान्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारले प्रस्तुति दिनेछन् । क्यानडाले आफ्नो उद्घाटन खेल बोस्निया एन्ड हर्जगोभिनासँग खेल्नेछ ।

यस्तै, तेस्रो उद्घाटन समारोह पनि १२ जुनमै अमेरिकाको लस एन्जलसमा हुनेछ । यस कार्यक्रममा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको भव्य प्रस्तुति रहनेछ । फिफाका अनुसार केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइलाजस्ता विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिनेछन् । समारोहपछि घरेलु टोली अमेरिकाले पाराग्वेसँग खेल्नेछ ।

पहिलोपटक तीन राष्ट्र आयोजक
फिफाले पहिलोपटक तीन राष्ट्रलाई संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेका थिए । मेक्सिको भने तेस्रोपटक विश्वकप आयोजना गर्ने पहिलो देश बनेको छ । यसअघि उसले १९७० र १९८६ मा आयोजक बन्ने अवसर पाएको थियो । अब सन् २०३० मा पनि तीन राष्ट्रहरू मोरक्को, पोर्चुगल र स्पेनले प्रतियोगिता आयोजना गर्दै छन् । 

जोर्डन, उज्वेकिस्तान, केप भार्डे र कुराकोओ पहिलोपटक सहभागी
प्रतियोगितामा ४८ टिम प्रतिस्पर्धा गर्दा पहिलोपटक चार टिम सहभागी भएका छन् । एसियाबाट दुई टिमहरू जोर्डन र उज्वेकिस्तान पहिलोपटक सहभागी भएका छन् । यस्तै, केप भार्डे पहिलोपटक विश्वकपमा सहभागी भएको हो । यस्तै, क्यारिबियन टिम कुराकोओ पनि पहिलोपटक विश्वकपमा सहभागी भएको छ ।

विश्वकपमा पहिलो जित पर्खिरहेका १० टिम 
४८ टिममध्ये १० टिम अझै विश्वकपमा पहिलो जितको खोजीमा छन् । चार टिम विश्वकपमा डेब्यु गर्दै छन् भने ६ राष्ट्रले अहिलेसम्म जित निकाल्न सकेका छैनन् । चार देश उज्वेकिस्तान, केप भार्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै छन् । यही चार टिमसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा विश्वकपमा पहिलो जितको खोजीमा छन् ।

इरान–अमेरिका विवादको असर
आयोजक अमेरिका र इरानबिचको राजनीतिक तनावका कारण प्रतियोगिता विवादमा परेको छ । इरानी खेलाडी, अधिकारी र समर्थकमाथि कडाइ गरिएको छ भने भिसा प्रक्रियामा समेत कडाइ गरिएको रिपोर्टहरू आएका छन् । मुख्य खेलाडीलाई नै ७ घण्टाभन्दा बढी विमानस्थलको अध्यागमन विभागमा रोकेर केरकार गरेको घटना बाहिरिएका छन् । यस्तै, इरानी समर्थकलाई झन्डासमेत लैजान प्रतिबन्ध लगाइएको छ । यस्त,ै अमेरिकामा खेल खेलेर सोही दिन मेक्सिको फर्कनुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको छ । 

रेफ्रीले नै प्रवेश पाएनन्
इरानका खेलाडी र समर्थकलाई बाध्यकारी अवस्था सिर्जना गर्दा सोमालियाका रेफ्रीले भने अमेरिका प्रवेश गर्नै पाएनन् । आयोजक फिफाले खेल सञ्चालन गर्न जिम्मेवारी दिएपछि सोमालियाका रेफ्री उमर अब्दुल कादिर अर्टान अमेरिका प्रवेश त गरे । तर, सन् २०२५ मा अफ्रिकाको उत्कृष्ट रेफ्री घोषित अर्टानलाई मियामी विमानस्थलबाटै फर्काइएको छ । अमेरिकी अध्यागमन विभागले उनलाई रोक्नुको कारण बताएको छैन । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमालियालगायत केही राष्ट्रहरूमाथि लगाएको ‘भ्रमण प्रतिबन्ध’का कारण रेफ्री अर्टानलाई विमानस्थलबाटै फकाइएको हो ।

मेसी, रोनाल्डोदेखि एम्बाप्पेसम्म
यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बाप्पे, स्पेनका लामिन यमललगायत स्टार खेलाडी मैदानमा उत्रिँदै छन् । ४० वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने ३८ वर्षीय मेसी छैटौँपटक विश्वकपमा सहभागी हुँदै छन् । घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोएर तथा युवा स्टारहरू फ्रान्सका केलियन एम्बाप्पे, स्पेनका लामिन यमल, इंग्ल्यान्ड जुड वेलिंघमजस्ता खेलाडी पनि  मैदानमा हुनेछन् । गत संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बाप्पे यसपटक गोल्डेन बुटका प्रमुख दाबेदार मानिएका छन् । 

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब