मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभिनयभन्दा विगतको बस कन्डक्टरको जागिर बढी मन पर्ने बताएका छन् । ७५ वर्षको उमेरमा पनि चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेका उनले आफ्नो विगत सम्झँदै कन्डक्टरका रूपमा बिताएका पाँच वर्ष जीवनका अविस्मरणीय समय भएको बताए ।
आगामी चलचित्र ‘जेलर २’ को एक कार्यक्रममा रजनीकान्तले आफ्नो पुरानो पेसाबारे चर्चा गरेका हुन् । सन् १९७५ मा के. बालचन्दरको चलचित्र ‘अपूर्वा रागंगल’ बाट अभिनयमा डेब्यु गर्नुअघि उनी बैंगलोरमा बस कन्डक्टरका रूपमा काम गर्थे ।
‘अभिनय मलाई पक्कै पनि मनपर्छ । तर मलाई बस कन्डक्टरको जागिर त्योभन्दा धेरै गुणा बढी मन पर्थ्यो,’ उनले भने । कन्डक्टरका रूपमा बिताएका पाँच वर्ष अद्भुत रहेको स्मरण गर्दै उनले आफूलाई अहिले पनि कन्डक्टरकै रूपमा चिन्ने बताए ।
‘मलाई आज पनि ती दिनहरूको याद आउँछ । त्यसैले, म मनैदेखि मान्छु कि म एउटा कन्डक्टर हुँ र सधैँ रहिरहनेछु,’ उनले भने, ‘साँचो भन्नुपर्दा म आज पनि सुपरस्टारडम र यति धेरै चर्चासँग आफूलाई जोड्न सक्दिनँ । त्यसैले म कहिलेकाहीँ बैंगलोर जान्छु । जब म त्यहाँ बस देख्छु, मलाई धेरै खुसी लाग्छ ।’
दर्शकको मायाले मुख्य भूमिकामा
७५ वर्षको उमेरमा पनि चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहनुको कारणबारे बोल्दै रजनीकान्तले दर्शकको माया र समर्थनलाई श्रेय दिए ।
‘यो सबै मेरा ती तमिल दर्शकहरूको कारणले हो, जो मेरा लागि भगवान्जस्तै छन् र मेरा चलचित्र हेर्न आउँछन् । उनीहरूबिना म केही पनि होइन । म त केवल घाँसको एउटा त्यान्द्रो हुँ,’ उनले भने ।
दर्शकको माया र समर्थनकै कारण ठूला चलचित्र निर्माण कम्पनीहरू आफूसँग काम गर्न आइरहेको उनको भनाइ थियो ।
‘मलाई थाहा छैन, तपाईंहरूको यो मायाको ऋण कसरी चुकाऊँ । म तपाईंहरूको पाउमा निहुरिएर प्रणाम गर्छु,’ उनले भने ।
गुरु के. बालचन्दरबाट सिकेको अभिनय कला
कार्यक्रममा रजनीकान्तले आफ्ना गुरु तथा दिग्गज चलचित्र निर्माता के. बालचन्दरबाट सिकेका कुरा पनि स्मरण गरे । उनका अनुसार बालचन्दरले कलाकारलाई आफ्नो चरित्र गहिराइबाट बुझ्न र त्यसमा पूर्ण रूपमा डुबेर अभिनय गर्न सिकाएका थिए ।
‘जब हामी कुनै चलचित्रमा काम गर्न सहमत हुन्छौँ, तब हामीले त्यसबारे छायाङ्कनका बेला मात्र सोच्नु हुँदैन, बरु सधैँ त्यसबारे सोचिरहनुपर्छ,’ उनले भने ।
रजनीकान्तले कमल हासन र आफू के. बालचन्दरकै प्रशिक्षणबाट अघि बढेको बताए । उनका अनुसार अभिनयका क्रममा बालचन्दरले कलाकारलाई बीचमै रोक्नेभन्दा पनि गल्ती गरेपछि त्यसको कारण सोध्ने र चरित्रलाई गहिराइबाट बुझ्न सम्झाउने गर्थे ।
‘जब हामी अभिनय गर्थ्यौं, उहाँ बीचमा केही भन्नुहुन्नथ्यो । तर, यदि हामीले कुनै गल्ती गर्यौँ भने हाम्रो नजिक आएर बिना सोचविचार किन यस्तो गर्यौँ भनेर सोध्नुहुन्थ्यो । त्यसपछि सम्झाउनुहुन्थ्यो कि जुन चरित्र हामी निभाइरहेका छौँ, त्यसबारे सधैँ सोचिरहनुपर्छ,’ उनले भने ।
गुरुबाट सिकेको यही पाठले आफूलाई चरित्रमा पूर्ण रूपमा ढल्न मद्दत गरेको रजनीकान्तले बताए ।
अक्टोबर १५ मा ‘जेलर २’ प्रदर्शन हुँदै
रजनीकान्तको आगामी चलचित्र ‘जेलर २’ सन् २०२३ मा प्रदर्शन भएको सफल चलचित्र ‘जेलर’ को सिक्वेल हो । अघिल्लो चलचित्रमा रजनीकान्त र राम्या कृष्णन मुख्य भूमिकामा थिए ।
‘जेलर २’ मा रजनीकान्तसँगै विद्या बालन, राम्या कृष्णन, मिथुन चक्रवर्ती, एसजे सूर्या, सुरज भेन्जारामुडु, योगी बाबु, मिर्ना र ऋत्विकलगायत कलाकार देखिनेछन् ।
यो चलचित्र अक्टोबर १५ अर्थात् बिहीबारदेखि चलचित्र घरमा प्रदर्शन हुने तयारीमा छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved