मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

  • कार्तिक १, २०८३ | ८ पटक पढिएको | सीमा संदेश
alt

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क्षमताका बलमा छुट्टै पहिचान बनाउन सफल अभिनेत्री मृणाल ठाकुरका लागि यो यात्रा सजिलो थिएन । करियरको सुरुवाती चरणमा उनले निराशाजनक र नकारात्मक अनुभवको सामना गर्नुपरेको थियो ।

उनको रूपरङ हेरेर ‘हिरोइन बन्न सक्दिनौ’ भन्ने गरिन्थ्यो । यस्ता टिप्पणी सुनेर मृणाल घर फर्किएपछि खुब रुन्थिन् । कतिपय बेला त उनले रेलको लिकमा हाम फालेर आत्महत्या गर्ने सोचसमेत बनाएकी थिइन् । त्यस्तो समयमा परिवारले उनलाई ठूलो साथ र हौसला दिएको थियो ।

अभिनेत्रीले कडा मेहनत र समर्पणका साथ आफ्नो संघर्षको सामना गरिन् । उनको मेहनतले फल दियो र आज उनी सफल अभिनेत्रीका रूपमा स्थापित छिन् ।

जन्म र पारिवारिक पृष्ठभूमि

मृणाल ठाकुरको जन्म सन् १९९२ अगस्ट १ मा महाराष्ट्रको धुलेमा भएको हो । उनका पिता उदय ठाकुर बैंकमा कार्यरत थिए । उनको जागिर सरुवा भइरहने प्रकृतिको थियो । पिताको सरुवाका कारण परिवार धुलेबाट मुम्बई सरेको थियो । उनकी आमा वन्दना ठाकुर गृहिणी हुन् । परिवारमा मृणालका एक दाइ धवल ठाकुर र एक दिदी लोचन ठाकुर छन् ।

उनकी दिदी मेकअप आर्टिस्टका रूपमा परिचित छिन् । उनका दाइ धवल ठाकुर इन्जिनियर हुन् । उनी अभिनयमा पनि सक्रिय छन् । विशेषगरी जियो हटस्टारको वेब सिरिज ‘ठुकरा के मेरा प्यार’ बाट उनले पहिचान बनाएका छन् ।

 मुम्बईसम्मको यात्रा

पिताको बैंकको जागिरका कारण परिवार मुम्बईमा स्थायी रूपमा बस्न थाल्यो । यही परिवर्तन मृणालको जीवनको महत्त्वपूर्ण मोड बन्यो । उनको पढाइ र करियरको दिशा पनि मुम्बईबाटै तय हुन थाल्यो ।

मृणालले मुम्बईमा विद्यालय तहको पढाइ पूरा गरिन् । त्यसपछि उनले मुम्बईको केसी कलेजमा आमसञ्चार विषयमा स्नातक अध्ययन सुरु गरिन् । तर, अभिनयमा व्यस्तता बढ्दै गएपछि उनले आफ्नो पढाइ पूरा गर्न सकिनन् । कलेज पढ्दादेखि नै उनी अडिसन दिन र टेलिभिजनको दुनियाँमा प्रवेश गर्न थालेकी थिइन् ।

मृणालका अनुसार ‘थ्री इडियट्स’ फिल्मले उनको करियर बदलिदियो । नत्र उनी अभिनेत्री नभएर कुनै क्लिनिकमा दन्त चिकित्सकका रूपमा काम गरिरहेकी हुन्थिन् ।

डाक्टर होइन, पत्रकार बन्ने सपना

मृणालका आमाबुबा उनलाई दन्त चिकित्सक बनाउन चाहन्थे । उनले प्रवेश परीक्षा पनि उत्तीर्ण गरेकी थिइन् । तर, उनको रुचि पत्रकारितातर्फ थियो । मुम्बईमा भएको आतंकवादी हमलाको समाचार रिपोर्टिङबाट प्रभावित भएर उनी अपराधसम्बन्धी समाचार लेख्ने पत्रकार बन्न चाहन्थिन् ।

पिताको अनुमतिपछि उनले पत्रकारिता विषयमा भर्ना लिइन् । तर, परिस्थितिले उनलाई पत्रकार होइन, क्यामेराअगाडि उभिने अभिनेत्री बनायो ।

रमाइलोका लागि दिएको अडिसनबाट पहिलो अवसर

कलेज पढ्ने क्रममा रमाइलोका लागि दिएको एउटा अडिसनले मृणालको जीवन बदलिदियो । सन् २०१२ मा उनले स्टार प्लसको टेलिभिजन सिरियल ‘मुझसे कुछ कहती… ये खामोशियाँ’ मा काम गर्ने अवसर पाइन् । यही उनको अभिनय यात्राको पहिलो ठूलो अवसर थियो ।

टेलिभिजनपछि उनले मराठी फिल्ममा काम गर्न थालिन् । उनको पहिलो मराठी फिल्म ‘हेलो नन्दन’ थियो । यस फिल्मबाट उनले ठूलो पर्दामा पाइला राखिन् र क्षेत्रीय सिनेमामा आफ्नो पहिचान बनाउन थालिन् ।

परिवारको चिन्ता र साथ

सुरुवाती दिनमा पढाइ प्रभावित हुन थालेपछि परिवारलाई उनको अभिनय करियरबारे चिन्ता थियो । पढाइ र काम एकैसाथ अघि बढाउन कठिन भएपछि पिताले उनलाई एउटा स्पष्ट दिशा रोज्न सल्लाह दिएका थिए । परिवारको साथले मृणाललाई आफ्नो निर्णयमा टिकिरहन शक्ति दियो ।

‘बुलबुल’ बनेर घरघरमा चिनिइन्

टेलिभिजन सिरियल ‘कुमकुम भाग्य’ मा बुलबुलको भूमिकाले मृणाललाई घरघरमा परिचित बनायो । यस भूमिकापछि दर्शकमाझ उनी ‘बुलबुल’ नामले लोकप्रिय भइन् । यसले उनको करियरलाई नयाँ उचाइमा पुर्‍यायो ।

बडी शेमिङ, अस्वीकृति र निराशाको समय

करियरको सुरुवाती चरणमा मृणालले आफ्नो रूप र शरीरलाई लिएर अनेकौँ व्यङ्ग्य सहनुपर्‍यो । उनलाई गाउँले केटीदेखि ‘मटका’ भन्नेसम्म गरिन्थ्यो । यस्ता टिप्पणीले उनी मानसिक रूपमा निकै प्रभावित भएकी थिइन् । संघर्षका क्रममा उनलाई लोकल रेलबाट हाम फालेर आत्महत्या गर्ने सोचसमेत आएको थियो ।

त्यतिबेला उनी अडिसन दिन टाढाटाढासम्म लोकल रेल र बस चढेर यात्रा गर्थिन् । इन्फिनिटी मलको शौचालयमा लुगा फेरेर अडिसन दिन जानु उनको दैनिकीको हिस्सा बनेको थियो ।

‘लभ सोनिया’ ले बदल्यो करियर

सन् २०१८ मा प्रदर्शनमा आएको इन्डो–अमेरिकी फिल्म ‘लभ सोनिया’ ले उनको करियरमा नयाँ मोड ल्यायो । मानव बेचबिखनको विषयमा आधारित यस फिल्ममा उनले सोनियाको भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनयको अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा भयो ।

तर, फिल्मका लागि अडिसन दिँदा उनलाई टेलिभिजनमा धेरै देखिइसकेको भन्दै अस्वीकार गरिन्थ्यो । टेलिभिजनमा काम गरिसकेका कलाकारलाई फिल्ममा गम्भीरतापूर्वक नलिइने सोचले उनलाई पनि प्रभावित पारेको थियो ।

मृणालले एक अन्तर्वार्तामा बताएअनुसार फिल्मको छनोट प्रक्रियाका क्रममा उनको अडिसन भएको फाइलमा नखोल्नू भन्ने संकेत राखिएको थियो । निर्देशक तबरेज नुरानीले भने उक्त फाइल खोलेर अडिसन हेरे र उनलाई व्यक्तिगत रूपमा भेट्न बोलाए । भेटघाटपछि निर्देशकलाई मृणालले सोनियाको भूमिका निर्वाह गर्न सक्ने विश्वास भयो ।

भूमिकाअनुसारको रूप बनाउन पनि संघर्ष

‘लभ सोनिया’ मा सोनिया गाउँकी सरल युवती हुन् । यस भूमिकाका लागि आफ्नो रूपलाई चरित्रअनुसार बदल्न सकिने विश्वास मृणालले निर्माता डेभिड वोमार्क र फिल्मको टोलीलाई दिलाउनुपरेको थियो । मेकअप, केशसज्जा र प्राविधिक सहयोगबाट आफूलाई भूमिकाअनुसार प्रस्तुत गर्न सकिने भन्दै उनले अवसर दिन आग्रह गरेकी थिइन् ।

सुन्दरता मात्रै पर्याप्त हुँदैन

मृणालका अनुसार बाहिरी दुनियाँले सुन्दर र सफल व्यक्तिलाई सबै कुरा सजिलै प्राप्त भएको ठान्छ । तर, वास्तविकता त्यस्तो हुँदैन । हरेक व्यक्तिले जीवनमा संघर्ष गर्नुपर्छ । सफल हुन सुन्दरता मात्रै पर्याप्त हुँदैन, त्यसका लागि अन्य धेरै कुराको आवश्यकता पर्छ ।

उनले प्रसिद्धिको मूल्यबारे पनि आफ्नो धारणा राखेकी छन् । कहिलेकाहीँ आफू पनि सामान्य युवतीजस्तै जीवन बिताउन पाए हुन्थ्यो भन्ने लाग्ने गरेको उनले बताएकी छन् । प्रसिद्धिले सामान्य जीवनका साना खुसीसमेत त्याग्न बाध्य बनाउने उनको भनाइ छ ।

‘सुपर ३०’ बाट बलिउडमा ठूलो अवसर

‘लभ सोनिया’ मा मृणालको अभिनय देखेपछि धेरै फिल्मकर्मीले उनलाई नोटिस गर्न थाले । निर्देशक विकास बहल आफ्नो फिल्म ‘सुपर ३०’ का लागि सादगी र आत्मविश्वास दुवै झल्काउन सक्ने नयाँ अनुहारको खोजीमा थिए ।

मृणालले फिल्मका लागि अडिसन दिइन् । उनको अभिनय परीक्षण प्रभावशाली भएपछि ऋतिक रोशनको जोडीका रूपमा उनलाई छनोट गरियो । फिल्ममा उनले आनन्द कुमारकी प्रेमिका सुप्रियाको भूमिका निर्वाह गरेकी थिइन् । यस भूमिकाका लागि उनले तीन चरणमा अडिसन दिनुपरेको थियो ।

पहिलो चरणमा सामान्य दृश्यको अभिनय परीक्षण गरिएको थियो । दोस्रो चरणमा उनको भावनात्मक अभिनय क्षमता जाँचिएको थियो । तेस्रो चरणमा सुप्रियाको चरित्रअनुसार सादा बिहारी लुकमा स्क्रिन टेस्ट गरिएको थियो ।

‘बटला हाउस’ मा पनि अभिनयको अवसर

‘सुपर ३०’ पछि मृणाललाई बलिउडमा सम्भावना बोकेकी अभिनेत्रीका रूपमा हेरिन थालियो । त्यसपछि निर्देशक निखिल आडवाणीको फिल्म ‘बटला हाउस’ मा उनले जोन अब्राहमकी पत्नी नन्दिता कुमारको भूमिका पाइन् । फिल्ममा परिवार र कर्तव्यबीचको भावनात्मक द्वन्द्व देखाउने दृश्यमा उनको अभिनयको प्रशंसा भएको थियो । यस फिल्मका लागि पनि उनले अडिसन दिनुपरेको थियो ।

हिन्दी फिल्ममा उनको अभिनय देखेपछि दक्षिण भारतीय फिल्मकर्मीले पनि मृणाललाई नोटिस गर्न थाले । निर्देशक हनु राघवपुडी आफ्नो ऐतिहासिक प्रेमकथामा आधारित तेलुगु फिल्म ‘सीता रामम’ का लागि नयाँ अनुहार खोजिरहेका थिए ।

फिल्ममा मृणालले सीता महालक्ष्मी तथा नूरजहाँसँग सम्बन्धित भूमिका निर्वाह गरिन् । उनको अभिनय, पर्दामा देखिने उपस्थिति र चरित्रअनुसारको प्रस्तुतिले दर्शकको मन जित्यो । दुलकर सलमानसँग अभिनय गरेको यो फिल्म ठूलो सफल भयो । यसले मृणाललाई भारतभर परिचित बनाउनुका साथै रोमान्टिक अभिनेत्रीका रूपमा स्थापित गर्‍यो ।

दैनिक भास्करबाट 

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब