सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा पुरानो रिसइवीको कारण कुटपिट हुँदा पाँचजना घाइते भएका छन् भने दुईवटा मोटरसाइकलमा आगजनी भएको छ।
बरियारपट्टी– २, गोरगामा गाउँका टुनटुन भनिने राजकुमार यादव, किरण यादव, मनोज यादव तथा कपिल यादवलगायतको समूहले शुक्रबार मध्यरातमा कुटपिट गर्दा एकै परिवारका पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार कुटपिटबाट खोक्सी गाउँका ४५ वर्षीय सुरेन्द्र दास, उनकी श्रीमती ४० वर्षीया उषादेवी दास, छोरा २५ वर्षीय राधेकृष्ण दास र आफन्तहरू २२ वर्षीय हरिकृष्ण दास र १७ वर्षीय देवकृष्ण दास घाइते भएका छन्।
खुट्टा, हात, टाउकोसहित भित्री चोट लागेका घाइतेहरूको प्रादेशिक अस्पताल सिराहामा उपचार गरी शनिबार दिउँसो डिस्चार्ज गरिएको छ। आपसी रिसइवीको कारणले झडप भएको खबर पाएलगत्तै प्रहरी परिचालन गरिए पनि घटनास्थल नपुग्दै कुटाइ खाएका दास पक्षका करिब दुई सयजनाको आक्रोशित समूहले तत्काल नम्बर नखुलेको एउटा र बिआर ३२ यू ६०१६ नम्बरको गरी दुई थान मोटरसाइल जलाएर पूर्ण रूपमा क्षति पुर्याएका छन्।
रातको समयमा थप झडप हुन नदिन इलाका प्रहरी कार्यालय महेशपुर पतार, बरियारपट्टी र झाँझपट्टी तथा प्रहरी चौकी कचनारीबाट थप प्रहरी बल परिचालन गरी स्थिति नियन्त्रणमा लिनुका साथै कुटपिटमा संलग्नमध्ये तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
महेशपुर पतारबाट प्रहरी नायब निरीक्षक गुदरप्रसाद यादवको कमान्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा कुटपिटमा संलग्न टुनटुन भनिने राजकुमार, कृष्ण, कपिललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतार ल्याएर थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved