सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीमा शनिबार गाँजाका बोट फँडानी गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजाको बोट लगाइएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खेतबारीमा पुगेर खानतलासी गरेको थियो ।
सो क्रममा प्रहरीले करिब ६ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजाका बोट फँडानी गरेको छ । गाँजा फँडानी गर्ने क्रममा खेतको बीच भागमा पुराना दुईवटा काठका गोलियाबीच लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको हो ।
प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार पेस्तोलमा नम्बर नभएको र गोलीसमेत नभएको अवस्थामा फेला परेको थियो ।
बरामद पेस्तोलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved