बलिउडका चर्चित अभिनेता टाइगर श्राफ लक्षित गरी मुम्बईको जुहु क्षेत्रमा आइतबार साँझ अन्धाधुन्ध गोली प्रहार भएको छ । मुम्बई प्रहरीका अनुसार जुहुको पुष्पा पार्क नजिकै यो घटना भएको हो ।
तीनजना अज्ञात मोटरसाइकल सवार व्यक्तिहरूले टाइगर श्राफको बीएमडब्लु) गाडीलाई निशाना बनाएर तीन राउन्ड गोली चलाएका थिए । भाग्यवश यस आक्रमणधमा अभिनेता टाइगर श्राफ पूर्णरूपमा सुरक्षित रहेका छन् र उनलाई कुनै चोट लागेको छैन ।
यद्यपि, उनका गाडी चालक (ड्राइभर) को हातमा गोली लागेको छ र उनलाई उपचारका लागि नानावती अस्पताल भर्ना गरिएको छ । आक्रमणका क्रममा एक अटो रिक्सा चालक पनि घाइते भएको बताइएको छ ।
प्रारम्भिक जानकारी अनुसार टाइगर श्राफ जुहुको एक मैदानमा फुटबल म्याच खेलेर आफ्नो गाडीमा घरतर्फ फर्किरहेका बेला यो घटना भएको हो । सोही क्रममा मोटरसाइकलमा आएका सुटरहरूले उनको गाडीमाथि गोली बर्साएका थिए ।
घटनालगत्तै सामाजिक सञ्जालमा एउटा अडियो तथा पोस्ट सार्वजनिक गर्दै लरेन्स विश्नोई ग्याङ सम्बद्ध ग्याङ्स्टर अनिल पण्डित र हरमन सन्धुले यस आक्रमणको जिम्मेवारी लिएका छन् ।
उक्त सन्देशमा अभिनेता सलमान खानसँग काम गर्ने र उनको नजिक हुनेहरूलाई फिल्म उद्योगमा निशाना बनाइने चेतावनी दिइएको छ । यद्यपि, मुम्बई प्रहरीले यस दाबीको आधिकारिक पुष्टि गरिसकेको छैन र यसको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ ।
घटनापछि मुम्बई प्रहरी र क्राइम ब्रान्चको टोली तुरुन्तै घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेका छन्. दोषीहरूलाई पक्राउ गर्न प्रहरीले १२ वटा विशेष टोली गठन गरी सो क्षेत्रका सीसीटीभी फुटेजहरू संकलन गरिरहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved