देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी पेरिसमा मात्रै सवा लाखको भीड । सबैको आक्रोश सरकारप्रति । शनिबार फ्रान्समा देखिएको यो उग्र आक्रोश आखिर के हो ? फ्रान्समा के भइरहेको हो ? यो तनावको कारण के ? राष्ट्रपति इमानुएल म्याक्रोँको कार्यकाल अर्को वर्षबाट सकिँदै छ । यसको राजनीतिक अर्थ के हुन्छ ? अनि यल्लो भेस्ट भनेको के हो ? संसारभर अहिले किन आन्दोलन र तनावको शृंखला मात्र देखिइरहेको छ ?
१७ अक्टोबर अर्थात् शनिबार एक्कासि फ्रान्समा ठूलो आन्दोलन देखापर्यो । प्रदर्शनकारीहरू नारा लगाइरहेका थिए- ‘प्रहरी कसैलाई मन पर्दैन’, ‘म्याक्रोँ राजीनामा देऊ’ ।
भीड उग्र बन्दै गयो । पुरातात्त्विक भवनमा आगजनी गरियो, व्यापारिक भवनमा तोडफोड र लूटपाट भयो । फ्रान्सेली प्रहरीका अनुसार राजधानी पेरिसमा मात्र ८ सय ५५ प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । ५ सयभन्दा बढीलाई अझै हिरासतमा राखिएको छ । जसमध्ये १ सय ७१ त नाबालिग छन् । त्यहाँको सरकारी वकिल कार्यालयका अनुसार हिरासतमा भएका अधिकांश व्यक्तिलाई चोरी गरेको, हिंसात्मक गतिविधिमा संलग्न भएको अनि सार्वजनिक तथा निजी संरचना तोडफोडको आरोप लगाइएको छ ।
प्रहरीका अनुसार एकजना प्रदर्शनकारीको हृदयघातका कारण मृत्यु भएको छ । दंगा नियन्त्रण गर्ने ग्रिनेड पड्काउँदा एक प्रदर्शनकारीको हात नै उछिट्टिएको छ । आन्तरिक मामिलामन्त्री लरेन्ट नुनेजका अनुसार प्रहरी, अग्नि नियन्त्रक लगायत गरेर करिब ५ सयभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।
यो तनावको पृष्ठभूमि आखिर के हो त ?
गएको सेप्टेम्बरको तेस्रो हप्तातिर पेरिसबाट दक्षिणपूर्वमा पर्ने सानो सहर क्रेतेइलमा एक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, कक्षाकोठाको बिजोग जस्ता मुद्दा उठाएर सानो प्रदर्शन गरेका थिए । तर सामाजिक सञ्जालको प्रभावले त्यो विरोधको भिडियो देशव्यापी रुपमा फैलियो । १० दिनभित्रमै यो मुद्दा राष्ट्रिय मुद्दा बन्यो । विभिन्न समूहले भीडभाडयुक्त कक्षा, शिक्षक अभाव, अपर्याप्त भौतिक पूर्वाधार र अरू थुप्रै गुनासाहरू सम्बोधन गर्न भन्दै माग राख्न थाले । विद्यार्थी संगठन र अभिभावकहरूको समर्थनसँगै यो प्रदर्शन एउटा आन्दोलनमा रूपान्तरण भयो ।
त्यसपछि अक्टोबर ६ मा विशाल सडक आन्दोलन भएको थियो । जहाँ २ सय १५ युवा, ८५ शिक्षक कर्मचारी र ७ सयभन्दा बढी प्रहरी घाइते भए ।
त्यसपछि विभिन्न चरणमा यो आन्दोलनलाई निरन्तरता दिइयो । विद्यार्थी आन्दोलनलाई १३ अक्टोबरका लागि तय गरियो भने जीवनयापन खर्च र इन्धन मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई १७ अक्टोबरका लागि तय गरियो ।
तर अक्टोबर १७ मा आएर यी दुवै प्रदर्शनका सहभागीहरू एकढिक्का भए । फ्रान्सको यल्लो भेस्ट समूहले पनि ऐक्यबद्धता र सहभागिता जनाउँदा आन्दोलन व्यापक बन्यो । फ्रान्स अहिले तनावग्रस्त बनेको कारण यही हो ।
आखिर के हो त यल्लो भेस्ट ?
यल्लो भेस्ट समूहको सम्बन्ध खोज्दै जाने हो भने सन् २०१८ मा पुगिन्छ । त्यति बेला पनि राष्ट्रपति इमानुएल म्याक्रोँ नै थिए । र उनले इन्धनमा कर बढाउने योजना अघि सारेका थिए । तर दिनहुँ कामकाजका लागि लामो दुरीको यात्रा गर्नुपर्नेहरू, सवारी चालक तथा यातायात मजदुरहरूलाई इन्धनमा बढेको पैसा तिर्न बोझ भयो । यसपछि उनीहरूले २०१८ को नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन आह्वान गरे । त्यो प्रदर्शन विशेषगरी यातायात मजदुरको भएकाले उनीहरूबीच सहजै उपलब्ध हुने भनेको उनीहरूले लगाउने पहेँलो ज्याकेट थियो ।
तिनै पहेँलो ज्याकेटधारीहरूको आन्दोलन यति विशाल भयो कि इन्धनको मूल्यवृद्धिबाट विस्तार भएर म्याक्रोँको तत्कालीन आर्थिक नीतिकै आलोचनामा उत्रियो । तत्कालीन म्याक्रोँ सरकारका लागि सबैभन्दा ठूलो राजनीतिक चुनौती बन्यो । र अन्ततः म्याक्रोँ सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य नै भयो ।
जीवनयापन खर्च र इन्धन मूल्यवृद्धिविरुद्धको आन्दोलन भएकाले यही समूहले यसपालि पनि साथ दिएको हो ।
के यो आन्दोलनको राजनीतिक अर्थ छ त ?
हाल फ्रान्समा अल्पमतको सरकार छ र यसलाई संसद्बाट सन् २०२७ को बजेट पारित गराउन सहयोग जुटाउन हम्मे हम्मे परिरहेको छ । विपक्षी दल खर्च कटौतीको प्रस्ताव रुचाइरहेका छैनन् ।
उता इन्धन र ऊर्जाको उच्च मूल्य अनि जीवनयापन खर्चको बढिरहँदा नागरिकमा असन्तुष्टि पनि त्यसैगरी चुलिँदो छ ।
र सरकारकै अनुमानअनुसार सन् २०२६ मा फ्रान्सको बजेट घाटा अर्थात् आम्दानीभन्दा खर्चको अनुपात कुल गार्हस्थ्य उत्पादनको ५ दशमलब ४ प्रतिशत पुग्दै छ । यो भनेको युरो मुद्रा चल्ने कुनै पनि देशको तुलनामा सबैभन्दा उच्च हो ।
र यो सब भइरहेछ आगामी राष्ट्रपति निर्वाचनभन्दा ६ महिनाअघि । फ्रान्समा २०२७ को अप्रिलमा राष्ट्रपतीय निर्वाचन हुँदै छ । नियमअनुसार म्याक्रोँ आफैँ लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा लड्न पाउँदैनन् । तर यो अवस्थामा अहिले वहालवाला राष्ट्रपतिविरुद्ध सडकमा ठूलो जमातले प्रदर्शन गर्छ र राजीनामा माग्छ भने त्यसको असर निर्वाचनमा पर्ने नै भयो ।
फ्रान्समा भइरहेको जस्तो प्रदर्शन त्यहीँ मात्र सीमित छैन । शनिबार बेल्जियम, इटाली र पोर्चुगलमा पनि बेग्ला बेग्लै प्रदर्शन भए ।
बेल्जियममा शिक्षा बेथिति, बढ्दो पढाइ खर्च र उच्च शिक्षामा पहुँच सीमित हुने जोखिमविरुद्ध शनिबार प्रदर्शन गरे । यो प्रदर्शन विश्वविद्यालय रजिस्ट्रेसन शुल्कविरुद्ध केही सातादेखि नै जारी थियो ।
उता इटालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रदर्शनमा आएका केही व्यक्तिले आगजनी र लुटपाट मच्चाए । यो प्रदर्शन मूलतः संसारभर जारी युद्ध र बढ्दो जीवनयापन खर्चको विरुद्धमा थियो ।
पोर्चुगलमा पनि दशौँ हजार मानिस जीवनयापन खर्च बढेको भन्दै सडकमा उत्रिए । उनीहरूले न्यून ज्याला र आवासको व्यवस्था गर्न नसकिने अवस्था भएको भन्दै सडक तताएका थिए । पोर्चुगलमा घरको किन्ने वा भाडामा लिने मूल्य सन् २०१७ को तुलनामा दोब्बरभन्दा बढीले महँगो भएको छ ।
यही हप्ता भारतमा कक्रोच जनता पार्टीको आन्दोलन, उता अल्बानियामा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन र अर्जेन्टिनामा विश्वविद्यालयको बजेट कटौतीविरुद्धको प्रदर्शन भएका छन् । यस्तो देखिन्छ- संसारका धेरै ठाउँमा एउटा पुस्ता नै संस्थापनविरुद्ध सडकमा उत्रिएको छ ।
कतिपयले फ्रान्ससहित अहिले विश्वका अनेक ठाउँमा भइरहेका आन्दोलनलाई नेपालको जेन-जी आन्दोलनसँग पनि तुलना गरेर हेरिरहेका छन् । हुन पनि विश्वव्यापीकरणको समयमा आन्दोलनहरूको आयात-निर्यात हुनु असामान्य होइन ।
तर नेपालमा नातावाद र भ्रष्टाचारविरुद्ध आन्दोलन सुरु भएको थियो । अहिले फ्रान्सलगायत धेरै ठाउँमा भएको आन्दोलन बाँच्नलाई चाहिने आधारभूत खर्च नै बढेको भन्दै भइरहेको छ । कतिपय ठाउँमा शिक्षा सुधारका लागि प्रदर्शन भइरहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved