मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक पहिचानसँग जोडिएको झिझिया नृत्यको परम्परागत स्वरूपको मौलिकता हराउँदै गएको छ । विजयादशमीको आगमनसँगै जनकपुरधामसहित मिथिलाका विभिन्न स्थानमा झिझिया नृत्यका कार्यक्रम आयोजना हुन थाले पनि मौलिक लोकनृत्यको ठाउँमा भोजपुरी गीतमा आधारित अश्लील नृत्य प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको छ । झिझिया नृत्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने कतिपय कार्यक्रममा गाउँघरका परम्परागत झिझिया नर्तकीभन्दा आरकेष्ट्रा टोलीका डान्सरलाई प्राथमिकता दिन थालिएपछि मिथिलाको सांस्कृतिक पहिचान नै ओझेलमा पर्ने जोखिम बढेको छ । विजयादशमी नजिकिएसँगै जनकपुरधामका विभिन्न युवा क्लब, कमिटी तथा संघसंस्थाले झिझिया नृत्यका कार्यक्रम आयोजना गरिरहेका छन् । तर, यस्ता कार्यक्रममा परम्परागत मैथिली झिझिया गीत, माटोको घैँटो र सामूहिक लोकनृत्यभन्दा भोजपुरी गीतमा डान्स गर्ने आरकेष्ट्रा टोलीको प्रस्तुति आकर्षणको केन्द्र बन्न थालेको छ । झिझियाको नाममा आयोजना हुने कार्यक्रममा यसको मौलिक स्वरूपभन्दा मनोरञ्जन र दर्शक आकर्षित गर्ने शैलीलाई प्राथमिकता दिइँदा परम्परागत नृत्यको पहिचान कमजोर बन्दै गएको देखिन्छ । परम्परागत झिझिया नृत्यमा महिलाहरूले अनेकौँ प्वाल पारिएको माटोको घैँटो टाउकोमा राख्छन् । घैँटोभित्र बलिरहेको दियोको प्रकाशसँगै देवीको स्तुतिमा आधारित मैथिली लोकगीत गाउँदै मुसहर जातिका महिलाहरु सामूहिक रूपमा नाच्ने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्म देवी मन्दिर, शक्तिपीठ र गाउँबस्तीमा प्रस्तुत गरिने यो नृत्य धार्मिक आस्था, सामुदायिक एकता र मिथिलाको लोकजीवनको अभिन्न अंग मानिन्छ । तर, पछिल्लो समय परम्परागत झिझिया नर्तकीको सहभागिता र गाउँघरमा हुने मौलिक प्रस्तुतिमा कमी आउँदै गएको जानकारहरू बताउँछन् । यसको विकल्पमा आरकेष्ट्रा तथा व्यावसायिक नृत्य टोलीहरू सक्रिय हुन थालेका छन् । झिझिया कार्यक्रमको आकर्षण बढाउने नाममा मौलिक लोकगीत र नृत्य शैलीलाई पन्छाएर भोजपुरी गीतमा नृत्य प्रस्तुत गरिँदा झिझिया र सामान्य मनोरञ्जनात्मक कार्यक्रमबीचको भिन्नता नै मेटिने अवस्था सिर्जना भएको छ ।
व्यावसायिक मनोरञ्जनतर्फ
झिझिया नृत्य मिथिलाको सांस्कृतिक परम्परामा गहिरोसँग जोडिएको छ । घटस्थापनाका दिन गाउँ वा नगरको डिहवार मन्दिरमा पूजापाठ गरी सुरु गरिने यो नृत्य विजयादशमीसम्म विभिन्न देवीस्थान र बस्तीमा प्रस्तुत गर्ने चलन छ । परम्परागत रूपमा महिलाहरूको समूहले रातिको समयमा घरघर तथा टोलबस्तीमा पुगेर झिझिया नाच्ने र गीत गाउने गर्थे । माटोको घैँटोमा बलिरहेको दियो, घैँटाका प्वालबाट निस्कने मधुरो प्रकाश र मैथिली गीतको लयले दसैँको वातावरणलाई विशेष बनाउँथ्यो । लोकविश्वास अनुसार झिझिया नृत्य परिवार, सन्तान र समाजलाई दुष्ट शक्तिको प्रभावबाट जोगाउने कामनासँग सम्बन्धित छ । यद्यपि, यसको सांस्कृतिक महत्त्व अन्धविश्वासमा मात्र सीमित छैन । यसले मैथिली भाषा, लोकगीत, सामूहिक सहभागिता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परालाई जीवित राख्दै आएको छ । पछिल्लो समय आधुनिक मनोरञ्जनका साधनको विस्तार, नयाँ पुस्ताको बदलिँदो रुचि र परम्परागत लोककलाप्रति घट्दो आकर्षणले झिझियाको पुरानो स्वरूप प्रभावित भएको छ । यही रिक्ततामा व्यावसायिक नृत्य टोलीको प्रवेश बढ्दै गएको देखिन्छ । झिझियाका नाममा कार्यक्रम आयोजना भए पनि प्रस्तुतिमा यसको परम्परागत गीत, नृत्यशैली र सांस्कृतिक सन्दर्भ समेटिन नसक्दा मौलिकता संरक्षणको प्रश्न गम्भीर बनेको छ ।
मौलिकता संरक्षणमा चुनौती
झिझिया नृत्यको लोकप्रियता कायम राख्न र नयाँ पुस्तालाई यससँग जोड्न जनकपुरधाममा विभिन्न युवा क्लब तथा सांस्कृतिक संस्थाले प्रतियोगिता र उत्सव आयोजना गर्दै आएका छन् । यस्ता कार्यक्रमले झिझियालाई सार्वजनिक मञ्च प्रदान गर्ने सम्भावना भए पनि प्रतियोगिताको उद्देश्य मौलिक लोकसंस्कृतिको संरक्षण हो वा केवल दर्शक आकर्षित गर्नु भन्ने प्रश्न उठ्न थालेको छ । झिझिया नृत्यको नाममा आयोजना हुने कार्यक्रमको मूल्यांकन गर्दा सहभागीको संख्या वा दर्शकको भीडलाई मात्र आधार बनाउनु पर्याप्त हुँदैन । मैथिली लोकगीत, परम्परागत वेशभूषा, माटोको घैँटो, सामूहिक नृत्यशैली र देवी स्तुतिको निरन्तरता पनि उत्तिकै महत्त् वपूर्ण पक्ष हुन् । यी विशेषता हराउँदै गएमा कार्यक्रमको नाम झिझिया रहे पनि त्यसले प्रतिनिधित्व गर्ने सांस्कृतिक परम्परा कमजोर हुन सक्छ । मिथिलाको पहिचान बोकेको झिझिया केवल दसैँको मनोरञ्जनात्मक कार्यक्रम होइन, यो पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको लोकसम्पदा हो । त्यसैले झिझियाको नाममा कार्यक्रम आयोजना गर्नु मात्र यसको संरक्षण होइन । यसको मूल स्वरूप, मैथिली भाषा, लोकगीत र परम्परागत नृत्यशैलीलाई जीवन्त राख्नु नै वास्तविक संरक्षण हो । अन्यथा, झिझियाको नाममा कार्यक्रम भइरहने तर झिझियाकै मौलिकता हराउँदै जाने अवस्था आउन सक्छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved