नेपालको आकाश माग्दै भारत, भारतीय रुट खोज्दै नेपाल

  • मंसिर १, २०८३ | ८१ पटक पढिएको | सीमा संदेश
alt

अर्बौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकिरहेका बेला भारतले आफ्ना विमानस्थलका लागि नेपालको हवाई क्षेत्र प्रयोग गर्न प्रस्ताव गरेपछि पुरानो हवाई प्रवेशमार्गको विवादले नयाँ मोड लिएको छ ।
नेपालले भैरहवा र पोखराका लागि भारतीय आकाश हुँदै सहज प्रवेशमार्ग मागिरहेको अवस्थामा भारतले पश्चिम बंगालको बागडोग्रा र बिहारको रक्सौलबाट हुने उडानका लागि नेपालको पूर्वी हवाई क्षेत्र प्रयोग गर्न खोजेको छ।

दुई देशबीच हवाई क्षेत्र प्रयोगसम्बन्धी पछिल्लो छलफलसँगै प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणमा यो विषय महत्वपूर्ण एजेन्डा बन्ने देखिएको छ । नेपालले बागडोग्राको प्रस्तावमा सकारात्मक संकेत दिएको छ भने रक्सौलका लागि थप प्राविधिक अध्ययन आवश्यक रहेको जवाफ दिएको छ । अब भारतको प्रस्तावलाई स्वीकार गर्दा नेपालले वर्षौँदेखि मागिरहेको भारतीय हवाई प्रवेशमार्ग कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ ।

नेपालको मुख्य माग पश्चिमबाट आउने अन्तर्राष्ट्रिय विमानलाई महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा क्षेत्रबाट प्रवेश गर्न दिनुपर्ने हो । अहिले पश्चिमी मुलुकबाट आउने अधिकांश विमान भारतीय आकाश हुँदै पूर्वतिर घुमेर सिमरा प्रवेश बिन्दुबाट नेपाल छिर्नुपर्ने बाध्यतामा छन् । त्यसपछि पुनस् पश्चिम फर्किएर भैरहवा वा पोखरा पुग्नुपर्छ । यसले उडान दूरी, समय र इन्धन खर्च बढाएको छ । महेन्द्रनगर वा नेपालगञ्जबाट प्रवेश गर्न पाए पश्चिमबाट आउने विमानको उडान समय करिब १० देखि १५ मिनेटसम्म घट्न सक्ने सम्भावना छ ।

नेपालले यो माग उठाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले थप हवाई प्रवेशमार्गको प्रस्ताव गर्नुभएको थियो । त्यसपछि केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का भारत भ्रमणमा पनि यो विषय उठ्यो । राजनीतिक तहमा सकारात्मक प्रतिबद्धता आए पनि प्राविधिक सहमति हुन सकेको छैन ।

भारतले विशेषगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रलाई सैन्य सुरक्षाको दृष्टिले संवेदनशील भन्दै आएको छ । गोरखपुरस्थित भारतीय वायुसेना आधार शिविरलगायत सैन्य संरचना र नागरिक तथा सैनिक विमानको हवाई आवागमन व्यवस्थापनलाई कारण देखाउँदै उसले थप प्रवेशमार्गमा आनाकानी गर्दै आएको छ । नेपालले भने निश्चित उचाइ, समय र सुरक्षा मापदण्ड निर्धारण गरेर प्राविधिक समाधान निकाल्न सकिने बताउँदै आएको छ ।

यो विवादको प्रत्यक्ष असर भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ । करिब ३५ अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र करिब २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको पोखरा विमानस्थलले अपेक्षित अन्तर्राष्ट्रिय उडान पाउन सकेका छैनन् । पोखरामा सन् २०२६ सेप्टेम्बरदेखि फ्लाई दुबईले दैनिक उडान सुरु गरेपछि केही आशा देखिएको छ । तर नियमित उडान विस्तारका लागि हवाई मार्गसँगै यात्रुको माग, व्यावसायिक सम्भाव्यता र पर्यटन बजार पनि बलियो हुनुपर्ने देखिन्छ ।

भारतले नेपालको आकाश प्रयोग गर्न खोज्नु नेपालका लागि वार्ताको अवसर हुन सक्छ । तर बागडोग्रा र रक्सौललाई अनुमति दिँदैमा भैरहवाले भारतीय आकाशको पहुँच स्वतस् पाउने सुनिश्चितता हुँदैन । दुवै प्रस्तावको उडान मार्ग, उचाइ, हवाई ट्राफिक व्यवस्थापन र सुरक्षा प्रबन्ध छुट्टाछुट्टै प्राविधिक सहमतिबाट टुंग्याउनुपर्छ । नेपालले आफ्नो आकाश प्रयोगको अनुमति र आफूले खोजेको हवाई पहुँचबीच स्पष्ट पारस्परिक लाभ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक कूटनीति, पर्यटन, ऊर्जा र हवाई सम्पर्कलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । भारतका लागि निवर्तमान नेपाली राजदूत डा। शंकर शर्माले भने वार्ताअघि नेपालले आफ्नो अडान र लचकताको सीमा स्पष्ट गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री शाहका लागि यो भ्रमण केवल हवाई मार्गको विषय होइन, अर्बौंको सार्वजनिक लगानीको प्रतिफल र नेपालको कूटनीतिक क्षमताको परीक्षा पनि हो । भारतलाई आफ्नो आकाश प्रयोग गर्न दिने निर्णय गर्दा नेपालले भैरहवा र पोखराका लागि आवश्यक भारतीय हवाई प्रवेशमार्गको ठोस सुनिश्चितता खोज्नुपर्छ । विगतमा राजनीतिक प्रतिबद्धतामै सीमित भएको विषयलाई यसपटक कार्यान्वयनयोग्य सहमतिमा बदल्न सके मात्रै यो भ्रमण उपलब्धिमूलक हुनेछ ।

तर अहिलेसम्म शाहको भारत भ्रमणको मिति भने घोषणा भएको छैन । नेपालले मंसिर ७ गतेदेखि प्रधानमन्त्रीको भारत भ्रमण हुने दाबी गर्दै आएको छ । उता भारतले भने अहिलेसम्म शाहको भारत भ्रमणको बारेमा कुनै मिति सार्वजनिक गरेको छैन ।

गोलबजारबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद् ...

सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन् ...

भगवानपुरमा ट्याक्टरका ब्याट्री चोरी गर्ने दुई जना

सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट ट्याक्टर ...

मंसिर २ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर २ गते । बुधबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब