चुनावको दिनको लागि त्रिपाल खोज्न आयोगको निर्देशन

  • वैशाख २९, २०७९ | ४०३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको मतदानका लागि ३० गते मौसम सफा नरहने आकलन गरेको छ ।

महाशाखाका अनुसार त्यस दिन दुई प्रदेशमा मेघ गर्जनसहित वर्षा हुन सक्छ भने अन्य प्रदेशमा सामान्य बदली हुन सक्छ । महाशाखाले स्थानीय तहको निर्वाचन २०७९ को लागि विशेष मौसम पूर्वानुमान बुलेटिन आज बिहान ६ बजे सार्वजनिक गरेको थियो ।

बुलेटिनअनुसार अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । हाल पश्चिम–मध्य बंगालको खाडीमा चक्रवात ‘असानी’ चलिरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली भएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

बिहीबार अर्थात् भोलि दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली तथा देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश एक, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।भोलि राती प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली तथा देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रवार अर्थात् मतदान हुने दिन पर्सी दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसै दिन राति प्रदेश १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

चुनावको भोलिपल्ट शनिवार देशको प्रदेश १, बागमती प्रदेश, मधेस प्रदेश तथा गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टाका लागि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई चेतावनी तथा परामर्श दिएको छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले निर्वाचन आयोगलाई अनुरोध गरिसकेको छ । मौसम पूर्वानुमान महाशाखाले माथि उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने महाशाखाले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका दिन बिहान ७ बजेदेखि मतदान सुरु हुन्छ । मतदान सम्पन्न नभएसम्मका लागि सबै मतदान केन्द्रमा वर्षाले अवरोध पुर्‍याउनेमा निर्वाचन आयोग सचेत रहेको आयोगले जनाएको छ ।

यसबाट जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै स्थानीय तहलाई निर्देशन दिइसकेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

यसका लागि सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न आयोगले स्थानीय तहहरूलाई भनेको छ । उनका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत यस्तो निर्देशन दिइएको हो ।

त्यसको आवश्यक समन्वय एवम् सहजीकरणको लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई पनि निर्देशन दिइसकिएको प्रवक्ता शर्माले बताए ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब