मधेसका यी शक्तिपीठ जहाँ नवरात्रिमा विशेष पूजा हुन्छ

  • कार्तिक ६, २०८० | ३३८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेसमा विशेष तरिकाले दसैँ मनाइन्छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न शक्तिपीठ छन् जहाँ नवरात्रिका अवसरमा विशेष पूजा गरिन्छ ।

खासगरी जनकपुरधाम, वीरगञ्ज र सप्तरीमा नवरात्रिका अवसरमा देवीको शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि व्यक्तिगत, समुदायिक रुपमा, कतै  क्लवहरुको सक्रियतामा व्यवस्थापनको काम हुन्छ ।

घटस्थापनाकै दिनदेखि शक्तिपीठहरुमा लोक नृत्य, सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रम आयोजना हुन्छन् । अझ साँझ र बिहान मन्दिरहरुमा महिलाको भिडभाड बढी हुन्छ । प्रत्येक बिहान स्नान गरी मन्दिरमा पूर्जा अर्चना गर्नेको भिड घटस्थापनादेखि नै नवरात्रिभर हुन्छ ।

जनकपुरधामको राजदेवी मन्दिर, लहानको दुर्गा मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सर्लाहीको चमेलीमाई मन्दिर, गौरको राजदेवी मन्दिर, पर्सामा गहवा माई मन्दिर र बारास्थित गढीमाई मन्दिरमा नवरात्रिभर दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

यी हुन् मधेस प्रदेशका प्रमुख शक्तिपीठ–

राजदेवी मन्दिर, जनकपुरधाम(धनुषा)

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित राजदेवी मन्दिर प्रमुख शक्तिपीठ मानिन्छ । यो मन्दिरमा प्रत्येक वर्ष दसैँ र चैते दसैँमा भव्य मेला लाग्छ । मन्दिरलाई स्थानीय युवा क्लवले बेहुलीझैँ सजाएर मेला आयोजना गर्छन् । यहाँ नेपालमात्रै होइन, भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गर्छन् ।

राजदेवीलाई राजा जनकको कुलदेवी मानिन्छ । मधेसमै चर्चित यो मन्दिरमा नवरात्रभरि दर्शनार्थीहरुको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।

यो मन्दिरमा एकैरात १५ हजारभन्दा बढी खसीबोका बलि दिइन्छ । अष्टमीको राति राजदेवी मन्दिरमा प्रत्येक वर्ष १५ हजारभन्दा बढी खसीबोका बलि चढाउने गरिन्छ ।

दुर्गा मन्दिर, लहान (सिराहा)

लहान नगरपालिका–७ स्थित दुर्गा मन्दिरमा यतिबेला भव्य मेला लागेको छ । यहाँ आसपासका जिल्ला तथा भारतबाट समेत भक्तजनहरु दुर्गा माताको दर्शन गर्न आउँछन् ।

देवीलाई भाकल गर्ने र मनोकांक्षा पूरा भएपछि सोही अनुसार बलि दिनका लागि यहाँ भक्तजन आउने गर्दछन् । यहाँको मेला दुर्गा मन्दिर पूजा समितिले आयोजना गर्छ । गत वर्ष यो मन्दिरमा दुर्गाको मूर्तिलाई ठुलो परिमाणमा सुनको गरगहना चढाइएको थियो ।

सोनामाई मन्दिर, औरही (महोत्तरी)

महोत्तरीको औरहीस्थित सोनामाई मन्दिरमा पनि नवरात्रिको समय दर्शनार्थीको ओइरो लाग्ने गर्दछ । यहाँ दसैँमा भूतमेला लाग्ने गरेको छ । दसैँको षष्ठी तिथिदेखि दशमीसम्म भूत, प्रेतात्माले सताएकाहरू मन्दिरमा आउने गर्दछन् ।

जादु–टुनामुना (तन्त्रसिद्धी) तथा भूतबोक्सीमा विश्वास गर्नेहरुले तिनको प्रभाव नपरोस् भन्नका लागि घटस्थापनादेखि नै पूजापाठ गर्ने गर्दछन् । तान्त्रिक मान्यताअनुसार घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परीक्षण गर्ने महापर्वको रुपमा लिने गरिन्छ । यसमा विश्वास गर्ने (कारनी) हरू बर्सेनि सोनामाई मन्दिरमा ओइरो लाग्ने गर्दछन् ।

कारनी र तिनका आफन्तहरु सोनामाइको प्रभावले तन्त्रमन्त्रको अवसरबाट मुक्ति मिल्ने विश्वासका साथ यहाँ आउने गर्दछन् । सोनामाइस्थानको ८ वर्ग किलोमिटर सीमा क्षेत्रभित्र पाइला टेक्नासाथ कारनीहरु काम्न सुरु गर्ने मन्दिरका पूजारी केदार झाको भनाइ छ । उक्त मेलामा शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजनहरु आउने गरेको झा बताउँछन् ।

सोनामाईको मूर्ति राखिएकै मन्दिर परिसरमै पूर्वतर्फ राजदेवी काठको मौलो छ, जहाँ अदभूत मेला लाग्ने गर्छ । सोनामाईमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रुपमा मानिन्छ ।

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौंदेखि भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका मानिस आउने गर्छन् ।

सोनामाई मन्दिरमा भक्तजनहरूले भाकलको रुपमा बोकाको बलि दिने गर्छन् । यहाँ बाहिरबाट आउने श्रद्धालु भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर आवास र खानपानको समेत व्यवस्था गरिन्छ ।

दुर्गा मन्दिर, मटिहानी (महोत्तरी)

यस्तै महोत्तरीको मटिहानीमा पनि दसैँमा दुर्गा मेला विशेष रुपले मनाइन्छ । नेपाल भारतको सिमानामा पर्ने यो ठाउँमा भव्य मेला आयोजना गरिन्छ ।

व्यापारिक ठाउँ रहेकाले यहाँ पारीको मधवापुर र वारीको मटिहानीबिचका व्यापारीहरुबिच प्रतिस्पर्धात्मक रुपमा मेला लगाइन्छ । मूर्ति बिर्सजन गर्ने दिन नेपालीहरुले भारतमा र भारतीयहरुले नेपालमा मूर्ति बिसर्जन गर्दछन् ।

छिन्नमस्ता भगवती मन्दिर, सप्तरी

सप्तरी जिल्लाको छिन्नमस्ता भगवती मन्दिर पर्यटकको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा नवरात्रिको बेलामा बिहानदेखि रातिसम्म भिड लागेको हुन्छ । यहाँ भारतीय पनि ठूलो संख्यामा पूजाका लागि आउने गर्दछन् । 

सप्तरीको राजविराजबाट १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता मन्दिर प्रमुख ५१ शक्तिपीठमध्ये एक हो । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको यहाँ नवरात्रिमा बिहानदेखि रातिसम्म नेपाली तथा भारतीय श्रद्धालुको भिड लाग्ने गर्दछ ।

मन्दिरमा दसैँका बेला ठूलो उत्सव नै हुने गर्दछ । यस मन्दिरमा श्रद्धालुले भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ । यहाँ छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात् शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्दछन् ।

कङ्कालिनी मन्दिर, भारदह (सप्तरी)

सप्तरी जिल्लाको राजविराजबाट २३ किलोमिटर पूर्व हनुमाननगर कङ्कालिनी नगरपालिकाको भारदहमा पर्ने कङ्कालिनी मन्दिर पनि सप्तरीको प्रमुख शक्तिपीठमध्ये एक हो । यो मन्दिरमा पूजा गरेपछि भक्तजनहरूको मनोकामना पूरा हुने जनविश्वास छ । यहाँ पनि नेपाल र भारतका श्रद्धालु–भक्तजन पूजाका लागि आउने गर्दछन् । दसैँमा यहाँ ठुलो मेला लाग्ने गरेको छ ।

किम्बदन्ती अनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खनन् गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो । त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पूजा सुरू गरेका थिए ।

यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनले बोका, भेडा, राँगा, परेवा, हाँस, माछा आदि बलिदान सामग्रीसहित आउने गर्दछन् । यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा सयौँको संख्या बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले यहाँ पञ्चबलिसमेत गर्छन् । यहाँ बर्सेनि ३० हजारभन्दा बढी बलि प्रदान हुने गरेको बताइन्छ ।

यहाँको मुख्य मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । यस मन्दिरमा पाँच स्तरको छाना छ ।

चमेली माई मन्दिर, सलेमपुर (सर्लाही)

सर्लाहीको सलेमपुरमा रहेको चमेली माई मन्दिरमा पनि दसैँका अवसरमा विशेष चहलपहल हुन्छ । यहाँ पनि घटस्थापनाको दिनदेखि दसैँको अन्तिम दिनसम्म दर्शनार्थीहरुको भिड लाग्छ ।

ऐतिहासिक धार्मिकस्थलको रुपमा रहेको मधेस प्रदेशका गन्तव्यमा यो मन्दिर पनि समावेश छ । जिल्लाको विभिन्न ठाउँबाट हजारौँको संख्यामा भक्तजनहरु यहाँ पूजा गर्न आउँछन् । यो मन्दिरको पनि आफ्नै महत्त्व छ । यहाँ दसैँमा मात्रै होइन, अन्य समयमा पनि बाटो हिँड्ने यात्रीले आ–आफ्नो सवारीसाधन रोकेर देवीको दर्शन गर्न जान्छन् ।

राजदेवी मन्दिर, गौर (रौतहट)

रौतहटको सदरमुकाम गौरमा रहेको राजदेवी मन्दिर पनि नवरात्रिमा दर्शनार्थीको भिड हुने एउटा शक्तिपीठ हो । यो मन्दिरमा अष्टमीका दिन एक हजारभन्दा बढी खसी, बोकाको बलि दिइन्छ ।

रौतहटमा सबैभन्दा बढी बलि दिइने मन्दिरका रुपमा परिचित राजदेवी मन्दिरमा पूर्ण तान्त्रिक विधिबाट पूजा सम्पन्न भएपछि बलि चढाउने चलन छ ।

गढीमाई मन्दिर, बारा(बारा)

विश्वमै सबैभन्दा बढी पशु बली दिने मन्दिरका रुपमा गढीमाईलाई चिनिन्छि । यो मन्दिर बारा जिल्लामा पर्छ । सदरमुकाम कलैयाबाट करिब आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईमा पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्छ ।

पाँच–पाँच वर्षमा मेला लागे पनि यहाँ बडादसैँको बेला पनि उत्तिकै भिडभाड र मेला लाग्ने गर्छ । बडादसैँका बेला यहाँ राँगा तथा बोकाको बलि दिने चलन छ । गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई तथा भक्तिमाईको पनि पूजा गरिन्छ ।

गढीमाई मन्दिर मधेस प्रदेशमा रहेको प्रशिद्ध शक्तिपीठ हो । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थी पनि आउने गर्छन् ।

बरियारपुरको खुला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ । मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलबोटसँगै ब्रह्मास्थल छ । ब्रह्मास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ, लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्म पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईका पूजारी थारूजातिका छन् ।

गहवामाई मन्दिर, वीरगन्ज (पर्सा)

पर्साको वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा घटस्थापनादेखिनै श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । गहवामाई मन्दिर हिन्दु धर्मावलम्बीको विश्वास र आस्थाका केन्द्रका रूपमा स्थापित भएको छ ।

दसैँभर साँझको समयमा महिलाहरु दियो बाल्न मन्दिर पुग्ने गर्छन् । यहाँ पनि भव्य मेला लाग्छ । यहाँ पनि अष्टमीको दिन देवीलाई पशु बलि चढाइन्छ ।

यो मन्दिरको क्षेत्रफल करिब ७२२५ वर्गफिट छ । मन्दिरको तीन वटा ढोका छन् । मूल ढोका पश्चिमतर्फ छ । यो मन्दिरमा अनेकौँ देवीदेवताका मूर्ति छन् । यद्यपि यहाँ विशेषगरी दुर्गा पूजा गरिन्छ ।

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब