नेपालका चौबिस स्थान भासिने खतरामा

  • जेठ ४, २०८२ | ३३० पटक पढिएको | सीमा संदेश
alt

नेपालका २४ स्थान ‘सिङ्कहोल’ निर्माण हुने अर्थात् जमिन भासिने खतरामा छन् । खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको हो । 

कास्कीको पोखरासहित विभिन्न जिल्लामा जमिन भासिएर गम्भीर दुर्घटना पनि भएका छन् । केही जिल्लामा जमिन भासिने खतरालाई दृष्टिगत गरी खानी तथा भूगर्भ विभागले सचेत पनि गराउँदै आएको छ । वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिन भासिएर हराएको छ । विभागका भूगर्भविद् डा. नारायण अधिकारीका अनुसार ११ मिटरसम्मको खाल्डो बनेपछि जमिन भासिएर फसेको गाडी त्यही दलदलमै छ । 

गाडी भासिएको चर्चा भइरहँदा देशका धेरै स्थान सिङ्कहोल निर्माण हुने जोखिममा रहेकोतर्फ भने धेरैको चासो पुगेको छैन । विभागकै भूविज्ञान महाशाखाका उपसचिव शिवकुमार बास्कोटाका अनुसार झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीका बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना छ ।

त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा छ । 

कसरी बन्छ सिङ्कहोल ? 

वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धिताल र खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले जमिन भासिनु आफैँमा खतरापूर्ण हुने बताउनुभयो । प्राडा धितालले जमिन भासिने जोखिममा सबैभन्दा बढी पोखरा परेको र अन्य ठाउँमा पनि उत्तिकै सचेत हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “जमिनको कुनै भागमा एकाएक आफैँ प्वाल पर्नु नै सिङ्कहोल हो । जमिनको माथिल्लो भागमा कडा खालको माटो वा चट्टान रहेको हुन्छ । तल नरम अथवा पानीमा घुलनशील चट्टान अथवा माटो भएमा जमिनमुनिको सतहको पानीले त्यसलाई घोल्दै बगाएर लगेमा त्यस्तो ठाउँ भासिन्छ अझ माथि केही संरचना बनाउँदा झन् जोखिम हुन्छ ।”

उहाँले पोखरामा धेरै त्यस्ता भूगोल रहेको आफ्नो अध्ययनको निष्कर्ष सुनाउँदै चुनढुङ्गाको चट्टान भएमा, गुफा वा भित्री च्यानल बढी रहेको खोव्रmो ठाउँमा जमिन भासिने बताउनुभयो । प्राडा धितालले भन्नुभयो “भौगर्भिक अध्ययनबिना पोखरी बनायौँ, सडक बनायौँ वा भूकम्प आयो भने पनि पहिलेको अवस्थामा परिवर्तन आउँछ । जमिन भासिने गर्छ ।”

भूगर्भ विभागका महानिर्देशक झाले जमिन भासिने सम्भावना भएका क्षेत्रका पहिचान गरी खतरायुक्त स्थानबारे सचेतना प्रदान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमै गएर पनि जोखिमयुक्त स्थानको पहिचान गरी भौतिक संरचना निर्माण गर्दा सुरक्षा अपनाउन र त्यस्ता ठाउँमा संरचना नबनाउन आग्रह गरिएको छ ।”

खतरापूर्ण हुन्छ सिङ्कहोल 

वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धिताल र विभागका महानिर्देशक मोनिका झाले जमिन भासिनु जोखिमपूर्ण हुने बताउनुभयो । प्राडा धितालका अनुसार जमिन भासिएर बन्ने दलदललाई चलाउँदा नजिकका अरू भौतिक संरचनामा पनि क्षति पुग्न सक्छ । उहाँले भौगर्भिक अध्ययनबिना भासिएको क्षेत्रमा जान पनि नहुने बताउनुभयो । 

महानिर्देशक झाले भौतिक संरचना निर्माण गर्दा भासिने खतरा छ कि छैन भन्ने अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार जोखिमयुक्त स्थानको अध्ययन सम्पन्न गरी स्थानीय तहलाई पनि त्यसबारे सचेत गराइएको छ । उहाँले भन्नुभयो, “तर कतिपय सम्बन्धित स्थानीय निकायले विभागको सुझावलाई कार्यान्वयन नै गरेका छैनन् ।”

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब