पछिल्लो समय नेपालमा कोरोना भाइरस र डेंगी संक्रमण एकसाथ फैलिरहेको छ । जसले देशको सार्वजनिक स्वास्थ्य प्रणालीमा थप दबाब सिर्जना गरिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार, पछिल्ला साताहरूमा दैनिक औसतमा सात जना कोरोना र बीसभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भइरहेको छ । संक्रमणको यो बढ्दो ग्राफले स्वास्थ्य पूर्वतयारीमा गम्भीर प्रश्न उठाइरहेको छ।
ईडीसीडीको विवरण अनुसार, जनवरीदेखि जुलाई ३१ सम्मको अवधिमा ४१६ जना कोरोनाबाट संक्रमित भएका छन्, जसमा पछिल्लो सातामात्रै २१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म ४९ जिल्लामा फैलिएको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यद्यपि, कोरोना संक्रमणको संख्यामा पहिलेको तुलनामा कमी देखिए पनि यसको जोखिम पूर्णरूपमा टरेको भन्न सकिने अवस्था छैन ।
कोरोनाको तुलनामा डेंगी संक्रमणको अवस्था झनै गम्भीर देखिएको छ । सोही अवधिमा दुई हजार ४५१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने पछिल्लो सातामात्रै १५७ जना संक्रमित भएका छन् । डेंगी हाल ७४ जिल्लामा फैलिएको छ । मनाङ, डोल्पा र हुम्लाबाहेक प्रायः सबै जिल्लामा संक्रमण देखिएको तथ्यले डेंगीको पहुँच कति फराकिलो छ भन्ने प्रस्ट पार्छ ।
काठमाडौं उपत्यकामा सबैभन्दा बढी २४१ जना संक्रमित भेटिएका छन् । त्यसपछि कास्की, पाल्पा, तनहुँ र सुनसरीमा पनि संक्रमितको संख्या एक सय नाघिसकेको छ । यो स्थिति संक्रमण सहरी क्षेत्रमात्र नभई ग्रामीण भेगमा समेत फैलिरहेको संकेत हो ।
ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार, हामीले देखिरहेका संक्रमितको संख्या केवल रिपोर्टिङमा आएका केस हुन् । वास्तविक संख्या समुदायस्तरमा यसको दशौं गुणा बढी हुनसक्छ । यो चेतावनी संक्रमण नियन्त्रणको प्रयास कति कमजोर रहेको छ भन्ने कुरालाई उजागर गर्छ ।
ईडीसीडीले सन् २०२५ को अन्त्यसम्म करिब ६० हजार नागरिकमा डेंगी संक्रमण देखिने प्रक्षेपण गरेको छ । यस्तो अनुमान आफैंमा गम्भीर सन्देश हो । यति ठूलो संख्यामा संक्रमण फैलिने जोखिम हुँदा पनि स्थानीय तथा संघीय सरकारको पूर्वतयारी र प्रतिक्रिया सुस्त देखिन्छ । अस्पतालहरूको पूर्वतयारी, ज्वरो क्लिनिकको अभाव, तथा जनचेतनामूलक कार्यक्रमको कमजोर कार्यान्वयनले डेंगी नियन्त्रण चुनौतीपूर्ण बनाइरहेको छ ।
संवेदनशीलता र नीति निर्धारणमा आवश्यकता
कोरोना र डेंगी दुवै संक्रमणलाई एकसाथ व्यवस्थापन गर्नु गाह्रो छ । एकातिर परीक्षण र उपचार केन्द्रहरूमा पुनः चाप बढ्ने सम्भावना छ भने अर्कातिर डेंगीको केस प्रायः बालबालिका, वृद्धवृद्धा, र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा जटिल बन्ने खतरा छ । यस्तो संवेदनशील अवस्थामा स्थानीय तह, स्वास्थ्य कार्यालय र समुदायको त्रिस्तरीय समन्वय आवश्यक देखिन्छ ।
नेपाल हाल सार्वजनिक स्वास्थ्यको दोहोरो संकटको सामना गर्दै छ ।
कोभिड–१९ को नयाँ लहरको जोखिमसँगै डेंगी संक्रमण झन् तीव्र रूपमा फैलिरहेको छ । तथ्यांक हेर्दा अहिले नै विशेष सतर्कता नअपनाए महामारीको पुनरावृत्ति हुन सक्छ । स्वास्थ्य निकायहरूले गम्भीर पूर्वानुमानलाई मध्यनजर गर्दै रोकथाम, परीक्षण, उपचार र जनचेतनामा तत्कालै प्रभावकारी कदम चाल्न जरुरी छ । महामारीबाट सिकेका पाठलाई व्यवहारमा उतार्न सकिएन भने, स्थिति नियन्त्रणभन्दा बाहिर जान समय लाग्दैन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved