मलमासको पौराणिक महत्व के छ ? त्यो बेला के गर्ने ? के नगर्ने ?

  • असोज २, २०७७ | १,६९३ पटक पढिएको | सीमा संदेश
alt

यसपाली असोज दुई गते सुक्रबारदेखि आगमी ३० गतेसम्म मलमास अर्थात अधिकमास परेको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।

अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।

अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ ।

सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ । यो वर्ष सोही गणनाक्रम अनुसार असोज २ गतेदेखि अधिकमास मनाउन लागिएको हो ।

हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ । हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

धर्मशास्त्रका जानकारहरूका अनुसार यो चाडमा निश्चित कर्मबाहेक लग्न जुराएर गर्ने सबै किसिमका पर्वहरू प्रतिबन्धित हुने गर्छ ।

पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार यो महिना अशुद्ध भएको र गणनामा नै नहुने भएकोले यो एक महिना कुनै पनि मुहूर्त जुराएर गर्ने काम गर्न शास्त्रले निषेध गरेको छ ।

वैदिक पञ्चाङ्ग अनुसार पहिले असार र कात्तिक महिनामा मात्रै अधिकमास मनाउने चलन भए पनि अहिलेको आधुनिक पञ्चाङ्ग अनुसार अधिकमास मनाएको २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ ।

किन भनियो पुरुषोत्तम मास ?

मलमासलाई पुरुषोत्तम मास पनि भन्ने गरिन्छ । यसको छुट्टै किंवदन्ती रहेको छ । हरेक महिनालाई सबै भगवानले आ–आफ्नो अनुकूल मिलाएर स्वीकार्न थालेपनि अन्तिममा अशुद्ध भनेर छाडिएको यो महिनालाई कुनै पनि भगवानले स्वीकार्न चाहेनन् । यसै पनि अशुद्ध भनेर छाडिएको यो महिनाले भगवानहरूसँग विलौना गरेपछि पुरुषोत्तम अर्थात् भगवान विष्णुले सो महिनाको नाम नै आफ्नो नामबाट राखेर सो महिनालाई आफूले स्वीकार्ने बताए भन्ने मान्यता छ ।

त्यसैले यो महिनामा अरू शुभकर्म गर्न निषेध गरिएकोले भगवान विष्णुलाई खुसी बनाउने गरी स्तुति गर्न भने शुभ हुने शास्त्रीय मान्यता छ ।

यो महिनामा केही कामको लागि निषेध गरिएको छ भने केही काममा बाधा नहुने कुरा विभिन्न धर्मशास्त्रमा उल्लेख छ । अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनाभरि जान नहुने प्रा.डा. भट्टराईको कथन छ ।

–मलमासमा मन्दिरलगायत भौतिक संरचना निर्माणको लागि समेत निषेध गरिएको छ । शास्त्रीय मान्यता अनुसार यो एक महिनाभरि कुनै पनि नयाँ शुभकर्मलाई शुभारम्भ गर्न नै निषेध गरिएको छ । यद्यपि यो समयमा समेत पहिलेदेखि नियमित गरिँदै आएको कर्म गर्न भने बाधा नपर्ने भट्टराई बताउँछन् ।

यो महिनामा भगवान विष्णुलाई मनपर्ने माल्पुवा जस्ता परिकारसहित विष्णुको पूजा आराधना गर्ने गरिन्छ । प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार मलमासको समयमा गर्न हुने र गर्न नहुने कामहरू निम्नानुसार छन् ।

पौराणिक कथन

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।

कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।

भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’

यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।

यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

हामीकहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ ।

मलमासमा गर्न नहुने भनिएका थुप्रै कुरा छन्ः तीमध्ये केही निम्नानुसार छन्

–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।

–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ ।

–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।

नव दम्पतीले के गर्नु हुँदैन मल मासमा ?

–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन ।

–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।

–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

 

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब