घुम्टो च्यातियो, पार्टपुर्जामा खिया लाग्यो, तर रेल चल्ने टुंगो छैन एक वर्षअघि आजै भारतबाट ल्याइएको थियो दुई रेल सेट

  • असोज २, २०७८ | ५५७ पटक पढिएको | सीमा संदेश
alt

नेपालले नयाँ दुई सेट ब्रोडगेज रेल भारतबाट खरिद गरी ल्याएको शनिबार एक वर्ष पूरा भएको छ। जनकपुर-जयनगर ब्रोडगेज लिकमा चलाउन २०७७ असोज २ गते आजकै दिन दक्षिण भारतबाट तामझामसहित नेपाली झण्डा फहराउँदै ल्याइएका दुई सेट रेल नेपाल अलपत्र परेका हुन्। 

२ असोज २०७७ मा भारतीय कम्पनी कोंकन रेल्वे कर्पोरेसनबाट ल्याएका रेल एक वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेशनमा त्रिपाल ओढाएर थन्काइएको छ। रेलमाथि ओढाइएका त्रिपाल पनि अहिले च्यातिइसकेका छन्। 

जनकपुर आएकै दिन नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले दुई महिनाभित्रै कानुनी प्रकृया पूरा गरी जनशक्ति राखेर रेल चलाउने आश्वासन दिएका थिए। 

तर, कानुनी जटिलताले एक वर्ष बित्दा अझै रेल चल्न सकेको छैन। कहिलेदेखि संचालन हुने निश्चित छैन। एक वर्षदेखि थन्किएका रेल नै कवाडीमा परिणत हुने खतरा बढ्दै गएको छ। 

पाँच दलीय गठबन्धन सरकारले नियुक्त गरेका नेपाल रेल्वे कम्पनीका नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनसम्बन्धी अध्यादेश निस्क्रिय भइसकेकोले त्यसलाई पुन: सक्रिय गराएर सदनबाट पास नहुँदासम्म रेल चल्न नसक्ने बताए। 

'कानुनको अभावमा रेल चलाउन समस्या छ। त्यतातिर हामी लागिरहेका छौँ,' उनले नेपालखबरसँग भने 'रेल सञ्चालनका लागि निर्माणाधीन भौतिक संरचना लिक, भवन स्टेसन लगायत हस्तान्तरण हुन बाँकी नै छ। थुप्रै ठाउँमा भवन जीर्ण भइसके छ। तिनलाई मर्मत नगरी हस्तान्तरण हुन सक्दैन।' 

अर्को सबैभन्दा ठूलो जटिलता रेल सञ्चालनसम्बन्धी कानुन हो। त्यही कारणले रेल सञ्चालन मिति अझै टुंगो लाग्न सकेको छैन। 

पार्किङमा त्रिपालको घुम्टोभित्र थन्काएर राखिएको रेलमा खिया लाग्न थालिसकेको छ। हावाहुरी र वर्षाले दुवै रेल छोपेको त्रिपाल च्यातिएर पाटपुर्जामा खिया लाग्न थालेका छन्। 

जनकनन्दनी गाउँपालिका-१ इनरुवामा राखिएको दुई सेट रेल सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ। रेल्वेका ३० जना कर्मचारीले रेखदेख गर्ने गरेका छन्।

दुई सेट रेल भारतीय सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेर ल्याइएको थियो।

भारतको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सन् २०१० मा सम्झौता भएको थियो। सन् २०११ माघ महिनादेखि निर्माण थालिएको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ।

परियोजनाको प्रथम चरणमा जयनगर-कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र  तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो। 

जसमध्ये जयनगरदेखि कुर्थासम्मको लिक दुई वर्षदेखि पूर्ण तयारी अवस्थमा छ। कुर्थादेखि भंगहासम्मको लिक लगभग तयारी अवस्थामा रहेको पूर्ण तयारीका लागि दुई महिना अझै लाग्ने रेल्वे विभागका साइड इन्जिनियर विनो ओझाले बताए।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब