काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिनुभएको हो ।
‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । सोहीअनुसार कर्मचारी पनि व्यवस्था गर्नुपर्ने हुन्छ’ –उहाँले भन्नुभयो ।प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति तय नभए पनि आयोगले आन्तरिक तयारी थालिसकेको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ ।
आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्थाअनुसार सरकारले मिति तोक्ने प्रमुख थपलियाको भनाइ रहेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न उहाँले आग्रह गर्नुभयो ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा गत वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन मितव्ययी भएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।
मितव्ययी तरिकाले निर्वाचन सम्पन्न हुनुको कारणहरू के के हुन् भन्ने सञ्चारकर्मीले राखेको जिज्ञासामा त्यसको कारण उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘पहिलो चरणमा सबै स्थानीय तहमा निर्वाचन भएको, कर्मचारी तथा खटिने स्वयंसेवकको खर्च कटौती, तयारीको समय कम, हवाई यातायातको कम प्रयोग, खरिद प्रक्रिया चुस्त रहेकोले निर्वाचन मितव्ययी भएको हो ।’
आगामी निर्वाचन पनि मितव्ययीको सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिबद्धता पनि थपलियाले व्यक्त गर्नुभयो । स्थानीय तहको निर्वाचनको तुलनामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको खर्च बढी हुने पनि उहाँले जानकारी दिनुभयो । यसैबीच आयोगले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेभन्दा करिब १ लाख ४४ हजार ५ सय ९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।
आयोगको विवरणअनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत पाएको छ । त्यस्तै, नेकपा एमालेले ३८ लाख ११ हजार ६ सय २ मत पाएको छ । कांग्रेसले पाएको मत ३४ दशमलव २८ र एमालेले पाएको मत ३३ दशमलव ०३ प्रतिशत रहेको आयोगले जनाएको छ । आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख ३ हजार २ सय ४७ मत पाएको छ । जनता समाजवादी पार्टीले ५ लाख ७७ हजार ३ सय ८०, नेकपा एकीकृत समाजवादीले ४ लाख २२ हजार ७ सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ६४ हजार १ सय ६० मत पाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved