फेला परेन भासिएको गाडी : असुरक्षा देखाएर अध्ययन टोली फिर्ता, चुम्बकीय वस्तु भेटिएको अनुमान

  • वैशाख २५, २०८२ | ४४२ पटक पढिएको | सीमा संदेश
alt

हेटौँडा उपमहानगरपालिका वडा नं. १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ । गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अचानक चिप्लिन गई गत शुक्रबार दिउँसोबाट जमिनमा भासिएपछि बेपत्ता भएको हो । दलदलमा भासिएर बेपत्ता भएको उक्त गाडी छैटौँ दिन हुँदासमेत फेला परेको छैन ।

उता जमिनभित्रै हराएको गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली बुधबार दिउँसो काठमाडौँ फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । भूगर्भविद् नारायण अधिकारीसहितको टोली आफूहरू नै असुरक्षित भएको भन्दै फर्किएको हो । 

भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको वस्तु प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै उहाँले प्रारम्भिक अध्ययन भएको र अझै गाडी कति तल र कहाँ छ भन्ने यकिन भइनसकेको बताउनुभयो । “गाडी कति गहिराइमा छ भन्ने प्रारम्भिक रूपमा थाहा भयो तर पुष्टि भइसकेको छैन,” उहाँले भन्नुभयो, “अध्ययन भएको छ, यसका आधारमा के नतिजा देखिन्छ थाहा छैन, यसको वैज्ञानिक उत्तरका लागि थप अध्ययन आवश्यक छ ।” उहाँले अहिले अध्ययन रोकिने बताउँदै भन्नुभयो, “हाम्रो सुरक्षाका लागि पनि अध्ययन रोकिन्छ ।” उहाँले अहिलेसम्म भएका अध्ययनको विश्लेषण गरेर अगाडि बढ्ने भन्दै यस क्षेत्रमा पानीका मूल तीन स्थानबाट आएको पाइएको बताउनुभयो ।

भूगर्भविद् अधिकारीसहितको टोलीले मङ्गलबार बिहानबाट अध्ययन थालेको थियो । अध्ययन टोलीले प्रारम्भिक कार्य पूरा गरी काठमाडौँ फर्केर पहिलो चरणको अध्ययनको विश्लेषणपछि दोस्रो चरणको कार्य हुने जनाइएको छ । टोलीले मङ्गलबार झन्डै १० घण्टा अध्ययन गरेको थियो । 

गैरीगाउँबाट चुच्चेखोलातर्फ आउने भित्री कच्ची सडकखण्डमा सडकनजिकै माछापालनका लागि बोरिङ खनेको पानीसहितको खाल्डोमा बोलेरो गाडी भासिएर दलदलमा बेपत्ता भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बेपत्ता भएको गाडी फेला नपरेपछि घटनास्थल पुग्नुभएका हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले अब पनि भूगर्भविद् बोलाएर खोजी कार्य गरिने बताउनुभएको थियो । गाडी भासिएको केहीबेरमै बेपत्ता भएको थियो भने गाडी भासिएसँगै सडकमै दह बनेको थियो । बोलेरोचालक र सहचालक भने भासिनुअघि नै निस्किएकाले दुर्घटनामा पर्नबाट जोगिएका छन् । गाडी भासिएको ठाउँनजिकै माछापालन गरिएको पोखरी र स्थानीयले बोरिङसमेत गरेका कारण जमिन भासिन पुगेको जनाइएको छ । 

   

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब