आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाको लहान नगरपालिका– २२, सिसवनी गाउँका २४ विपन्न परिवारलाई एक करोड २८ लाख रुपैयाँ बढीको लागतमा निर्मित सुरक्षित घर हस्तान्तरण गरिएको छ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले मंगलबार सिसवनीस्थित सोनी सदायको घरको रिबन काटेर साँचोसहित हस्तान्तरण गरेका हुन्। ‘भूमिहीन, दलित विपन्न पनि नगरकै बासिन्दा हुन्, नागरिकलाई अप्ठ्यारो परेका वेला स्थानीय सरकारले सघाउँछ भन्ने सन्देश दिन सुरक्षित घर बनाउन आर्थिक सहयोग गरेका हौँ,’ घर हस्तान्तरण गर्दै उनले भने।
सार्वजनिक ऐलानी जग्गा अतिक्रमण खाली गर्ने नाममा अन्य स्थानीय तहमा विनाविकल्प डोजर चलाएर भूमिहीन दलित र अन्य विपन्न समुदायको उठिबास भइरहेको चर्चा गर्दै उनले भने, ‘लहान नगर क्षेत्रका सुकुमवासी, गरिब, विपन्नलाई व्यवस्थित बसोबासका लागि आर्थिक अनुदान उपलब्ध गराई सुरक्षित घर बनाएर सम्बन्धित परिवारलाई दिँदै छौँ।’
वषौँदेखि झुपडीमा बस्दै आएकी स्थानीय करिब ३५ वर्षीया सोनी सदायले आफूहरूका लागि नगरपालिकाले पक्की घर उपलब्ध गराएपछि खुसी व्यक्त गरिन्। ‘श्रीमान्, चार छोराछोरीसहित ६ जनाको परिवार एउटै झुपडीमा बस्दै आएका थियौँ,’ उनले भनिन्, ‘शौचालय, भान्सासहित दुई कोठाको घर पाएपछि थप सुरक्षित महसुस भएको छ।’ मजदुरी गरेर तीन छोरा बुहारी, तीन नाति नातिना र आफूसहित १२ जना परिवारको जीविका चल्दै आएको सुनाउँदै स्थानीय ६५ वर्षीया जहर मोचीले भनिन्, ‘मजदुरीले बिहान बेलुका दुई छाक खान पनि मुस्किल हुन्थ्यो, पक्की घर पाउने त सोचेका पनि थिएनौँ, नगरपालिकाको समेत आर्थिक सहयोगमा घर पाएपछि ढुक्क भएका छौँ,’ उनले भनिन्।
शिक्षामा लगानी गर्न आग्रह
घर हस्तान्तरण समारोहमा भवानी एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक सुजितकुमार चौधरीले घर पाएकाहरूलाई अब घर मर्मतमा खर्च हुने रकम जोगाएर छोराछोरीको शिक्षामा लगाउन आग्रह गरे। ‘गरिब, विपन्न भएर मजदुरी गरेर थोरबहुत कमाएको रकम पनि अस्थायी फुसको घर मर्मतमा खर्च हुन्थ्यो,’ उनले भने, ‘अब २५/३० वर्ष घर मर्मतमा अतिरिक्त रकम खर्च गर्नुनपर्ने भएकाले त्यही रकम छोराछोरीको पढाइमा लगाउँदा भविष्य राम्रो बन्न सक्छ।’
सिराहाको धनगढीमाई नगरपालिका- २, भवानीपुरस्थित केन्द्रको प्राविधिक सहयोग तथा सहजीकरणमा नगरपालिकाको आ.व. ०८१/८२ को विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत ८२ लाख ८५ हजार ५१५ रुपैयाँ, ह्याविट्याट फर ह्युमानिटी नेपालको २० लाख ३५ रुपैयाँ र स्थानीय समुदायको श्रमदान मूल्यांकन २५ लाख ७१ हजार ४५९ रुपैयाँ लागतमा २४ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।
आर्थिक वर्ष ०८०/८१ देखि अहिलेसम्म लहान नगरपालिका १२, १३, १५, २१ र २२ नं. वडामा कुल ११८ घर निर्माण गरी सम्बन्धित दलित विपन्न परिवारलाई हस्तान्तरण गरिएको केन्द्रका सामाजिक विकास अधिकृत ज्ञानदीप चौधरीले बताए। उनका अनुसार नगरपालिकासमेतको आर्थिक सहयोगमा चालू आवमा लहान १३, १५ र १८ नं. वडामा बनिरहेको २५ वटा घर असार मसान्तसम्म हस्तान्तरण गरिनेछ। आगामी आ.व. ०८३/८४ मा नगरपालिकासँगको साझेदारीमा थप ७५ वटा घर निर्माण गरिने योजना रहेको उनले बताए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved